- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध सर्वोच्चमा आज बुधबारका लागि पेशी तोकिएको मुद्दा फेरी हेर्न नमिल्नेमा चढेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुने गरी पहिलो नम्बरमा पेशी तोकिएको थियो ।
काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै सभामुख सापकोटाविरुद्ध सर्वोच्च अदालतमा २०६८ मा मुद्दा दायर भएको थियो ।
तर इजलासमा रहेका न्यायाधीस कार्कीसँग सो मुद्दाको स्वार्थ बाझिने भएकाले हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश कार्कीले विगतमा कानुन व्यवसायी हुँदा सो मुद्दामा बहस गरेका थिए ।
यसअघि पनि १६ भदौमा पेशीमा चढेको यो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो । त्यसअघिसमेत सो मुद्दा पेशीमा चढेर पनि पटक पटक हेर्न नभ्याइनेमा राखिंदै आइएको थियो ।
लामाको अपहरणपछि हत्या गरेको भन्दै पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले ६ असार २०६८ मा मुद्दा दर्ता गरेका थिए ।
सो मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दालाई संवैधानिक इजलासमा लैजान आदेश गरेको थियो ।
लामाकी पत्नी पूर्णिमायाले २०६४ आफ्नो श्रीमानलाई ज्युदै खाल्डोमा पुरेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिन गएकी थिइन् । तर प्रहरीले जाहेरी नलिएपछि उनले सर्वोच्च पुगेर मुद्दाको प्रक्रिया थालेकी थिइन् ।
१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए ।