arrow

सभामुखले एमालेसँग छुट्टै वार्ताको पहल गरेनन्, एमालेको गुनासोः ‘सभामुखले समय दिएनन्’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
Agni_sapkota.jpg

काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यका लागि राजनीतिक दलका शीर्ष नेतृत्वले नेकपा एमालेसँग छुट्टै वार्ता गर्न दिएको सुझावलाई सभामुखले व्यवहारमा लागू नगरेपछि सभामुखसँग एमाले झनै रुष्ट भएको छ ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले छुट्टै संवाद गर्नका लागि समय नदिएको गुनोसो गरेको हो । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले आफूले सोमबार सभामुख सापकोटालाई फोन गरेर वार्ताका लागि समय मागेको तर सभामुखले समय नदिएको गुनासो गरे ।

‘राजनीतिक दलबाट एमालेसँग छुट्टै संवाद गर्न उहाँलाई सुझाव दिइएको छ, हामीले पनि छुट्टै संवाद गर्न चाहेका हौ, तर सभामुखले समय दिनु भएन,’ एमाले प्रमुख सचेतक भट्टराईले भने । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले एमालेलाई सोमबारको सर्वदलीय बैठकमा बोलाइएको तर सो दलबाट बैठकमा सहभागिता नभएको जनाए ।

उनले एमालेसँग सभामुखले छुट्टै छलफल गर्ने विषयमा कुनै तयारी नभएको र मंगलबार संसद बैठक निर्धारित भएको जानकारी दिए । न्यौपानेले संसद आफ्नो कार्यसूची अनुसार अगाडी बढ्नेसमेत जानकारी दिएका छन् ।

एमालेले सोमबार सभामुखले बोलाएको सर्वदलीय बैठकलाई भने  सत्ता गठवन्धनको मात्रै बैठक भएको भनेको छ । एमाले प्रमुख सचेतक भट्टराईले आफ्नो दलले कारवाही गरेका १४ सांसदको कारवाहीको सूचना सभामुखले टाँस्नु पर्नेसमेत दाबी गरे । तर वार्ता र सहमतिको प्रयासमा भने सो सूचना टाँस नगर्दा पनि एमाले बस्न तयार रहेको उनले भनेका छन् ।

‘एमालेले कारवाही गरेका १४ सांसदको कारवाहीको सूचना सभामुखले टाँस्नु पर्छ, तर वार्ता र सहमतीको प्रयासमा भने सो सूचना टाँस नगर्दा पनि एमाले बस्न तयार छ, उहाँले बोलाउन चाहनु भएकै छैन,’ एमाले प्रमुख सचेतक भट्टराईले थपे ।
 



लोकप्रिय समाचार
नयाँ