जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले आस्था र निष्ठाको पर्व तीजलाई विधिवत् रूपमा मान्नुपर्ने बताएका छन् ।
हरितालिका तीजका अवसरमा नेपाल वैश्य युवा सङ्घले जनकपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा महिला सम्मान कार्यक्रममा बोल्दै मेयर साहले तीजको नाममा हुने गरेको अतिरिक्त क्रियाकलापलाई न्यूनीकरणप्रति ध्यान दिनुपर्ने बताए ।
मेयर साहले भने, बहु जाति, बहु भाषा, बहु संस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वहरूले आफ्नै मौलिक मूल्य र मान्यताहरू सहित संस्कृति, कला, भेसभुसा, गीतसंगीतलाई संरक्षण तथा संवर्द्धन गरिरहेका हुन्छन् ।
देशको द्रुततर आर्थिक विकास एवम् सामाजिक रूपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयङ्गम गरी चाडपर्वहरू मनाउँदा मितव्ययिता अपनाउन आवश्यक रहेका मेयर साहले तर्क राखे ।
कार्यक्रममा विशिष्ट अतिथि, लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् नेपाल केन्द्रीय मत्स्य सहकारी सङ्घका केन्द्रीय अध्यक्ष सञ्जय कुमार साहले तिज पर्व श्रीमानको दीर्घायुको लागि बस्ने व्रत निष्ठाको भए पनि यसलाई आधुनिकीकरण गर्न थालिएको भन्दै चिन्ता व्यक्त गरे । उनले तीज पर्वको नाममा हुने फजुल खर्चलाई समेत ध्यान दिनु आवश्यक रहेको बताए ।
तीज पर्व महिलाहरूको लागि मात्र नभएर सामाजिक विविधताको लागि महत्त्वपूर्ण रहेको बताए । सो कार्यक्रममा मेयर साहले सहभागी महिलाहरूलाई गम्छा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।