arrow

संक्रमण बढ्न नदिन हुम्ला भित्रिने नाकामा कडाइ गरिने

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
health-humla.jpg

हुम्ला। कोरोना कहर बढ्न नदिन हुम्ला जिल्ला भित्रिने  सबै नाकाहरूमा कडाइ गरिने भएको छ । पछिल्लो समय देशभरि कोरोनाको संक्रमण बढी रहेकाले जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरूमा काडा निगरानी गरिने शुक्रवार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

अन्तर जिल्लाबाट हुम्ला भित्रिने हवाई मार्गका नाका सिमकोट विमानस्थल र स्थल मार्गका नाका ताँजाकोट गाउँपालिकाको कवाडी, सर्किगाड गाउँपालिकाको बालुकुना, अदानचुलि गाउँपालिकाको भिई र चंखेली गाउँपालिकाको रिमीमा कडाइका साथ निगरानी बढाइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

विशेष गरी नेपालगन्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेकाले जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो ।  विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै  पुन हुम्लामा क्वारेनटाइन र आइसोलेसन निर्माण गर्न जरुरी छ ।  जिल्ला अस्पतालमा  ३ बेडको आइसोलेसन  भए पनि आसोलेशन वार्डका लागि चाहिने सामान नभएकाले सबै नयाँ व्यवस्था गर्नु पर्ने जिल्ला अस्पतालका डाक्टर टसि अङ्जुक लामाले बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले कोरोना भाइरसबाट बच्नका लागि सावधानी अपनाई सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने सबैले आ आफ्नो ठाउँमा सचेत हुनु पर्नेमा प्रमुख जिल्ला अधिकारी आचार्यले जोड दिएका छन् ।

अब हवाई जहाजबाट जिल्लामा आउनेलाई सिमकोट विमान स्थलमा एक जना चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानी तथा चेकजाँच गर्ने र स्थल मार्गबाट अन्तर जिल्ला जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्किगाड गाउँपालिकाको बालुकुना, अदानचुलि गाउँपालिकाको भिई र चंखेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी चेकजाँच सुरु गरिने भएको छ । त्यसै गरी जिल्लमा प्रवेश गर्ने नागरिकको तीन पुस्ते विवरण, बसोबास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा हेल्थ डेस्कमा राखी हेल्थ डेस्कमा विवरण राखिएको व्यक्तिलाई पहिलो दश दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्क गर्ने प्रजिअ आर्चायले बताए ।

शुक्रवार दिउसो ११ बजे जिल्ला प्रशासन कार्यालयमा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, खुर्पानाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, चार वटै सुरक्षा निकायका प्रमुखहरू, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख र सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ