arrow

नागरिकता लिन सास्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
cdo humla.jpg

सिमकोट । नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौंँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ । यहाँको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरूपमा नागरिकता पाउन सकेका छैनन् । 

लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि पालिका केन्द्र सर्केगाडमा आउने ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका हुन् । नागरिकतालगायत अन्य प्रशासनिक काममासमेत बाधा पुगेको छ ।

इलाका प्रशासनबाट हुने सम्पूर्ण कामकाज ठप्प हुँदा यस क्षेत्रका सेवाग्राही समस्या परेका छन् । लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तै घर फर्कन बाध्य भएको नेकपा (माओवादी केन्द्र) सर्केगाड गाउँपालिका समिति अध्यक्ष छवि थापाले बताए । 

कार्यालय बन्द हुँदा नागरिकले भदौ महिनादेखि नागरिकता बनाउनसमेत नपाएको अध्यक्ष थापाले बताए । नागरिकता मात्र नभएर इलाका प्रशासनबाट हुने कुनै काम गर्न नपाएको उनले बताए । 

कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरू समस्यामा परेको सर्केगाड गाउँपालिका–१ जैरका युवराज रावतले गुनासो गरे । नागरिकता बनाउन नपाउँदा आफूलाई समस्या भएको रावतको भनाइ थियो । 

जैर गाउँबाट झन्डै तीन घण्टा हिँडेर सर्केगाड आइपुगेको भए पनि कार्यालयमा पुग्दा सेवाग्राहीका लागि सेवा दिने कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको रावतले बताए । 

कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । 

महिना दिन बित्दासमेत कार्यालयमा कर्मचारी कोही नहुँदा दक्षिणी भेगमा रहेका चारवटा गाउँपालिकाका सेवाग्राहीले समस्या भोग्नुपरेको उनले बताए ।

गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई-तीन हजार खर्च हुने गर्दछ तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको नागरिकता बनाउन सर्केगाड पुगेका सोही पालिका-४ का सपना थापाले बताए । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनुपरेको गुनासो थापाको छ । 

सदरमुकाम सिमकोट पुग्न एकदिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । अब एकदुई दिनमा कार्यालयमा इलाका प्रशासनका प्रमुख नआएपछि सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता पुरानै रहने भएको थापाले बताए । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम नहुने उनको गुनासो छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ