arrow

इलाका प्रशासन कार्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
Ilaka prasan somkot.jpg

सिमकोट । नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । 

लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । 

लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । 

कार्यालय बन्द हुँदा नागरिकले नागरिकता बनाउनसमेत पाएका छैनन् । 

कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरु समस्यामा परेको अदानचुली गाउँपालिका-२ तुम्च गाउँका भक्त कुलालले गुनासो गरे । 

भाइबुहारीको नागरिकता बनाउन नपाउँदा आफूहरूलाई समस्या भएको उनको भनाइ थियो । 

तुम्च गाउँबाट झन्डै ९ घण्टा हिँडेर सर्केगाड आइपुगेका सेवाग्राहीलाई कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको कुलालले बताए । 

कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । 

उनले भने, “बच्चासहित नागरिकता बनाउन आएकी मेरी भाइबुहारीले नागरिकता बनाउन पाइनन् अब दुई दिनको पैदलै सिमकोट पुग्नुपर्ने भयो ।”

गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई-तीन हजार खर्च हुने गर्दछ तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको हो । 

जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनु परेको गुनासो स्थानीयवासीको थियो ।  

सदरमुकाम सिमकोट पुग्न दुई-तीन दिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । 

विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम हुँदैन, स्थानीयवासी दन्तराज कटुवालको दुखेसो व्यक्त गरे । 

उक्त कार्यालयका लागि गाउँपालिकाबाट सिफारिस ल्याएका उनले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भएकाले कार्यालयप्रति आक्रोश व्यक्त गरे ।

नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फिर्ता भएका ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका केशबहादुर रोकायाले पनि गुनासो गर्दै  इलाका प्रशासन कार्यालयबाट नागरिकता बन्छ भनेर सर्केगाड पुग्दा कार्यालय बन्द भएकाले खर्च मात्रै भयो, नागरिकता बनेन भने । 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार कार्यालयका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि गत साउन १६ गते सकिएपछि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाका कार्यालय खटाइएको थियो । 

उनले भदौ १ देखि ७ गतेसम्म सर्केगार्ड बसेर छवटा नागरिकता बनाए जिल्ला फिर्ता भएपछि थप समस्या उत्पन्न भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ