प्रस्तावित निर्वाचन आयुक्तहरूसँग सम्बन्धित उजुरी खोलिँदै
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
324
Shares
काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११:०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने उक्त बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूप्रति प्राप्त उजुरीहरूको विषयमा छलफल गर्ने, उजुरी खोल्ने तथा प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको छ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार सुनुवाइ समितिले असार २५ गतेदेखि नै सुनुवाइ प्रक्रिया औपचारिकतापूर्वक अगाडि बढाएको थियो।
समितिको बैठकले प्रस्तावित नामहरूमाथि सर्वसाधारणबाट १० दिनको समयसीमा दिएर साउन ४ गतेसम्म उजुरी आह्वान गरेको थियो। प्राप्त उजुरीहरूको विस्तृत अध्ययनका लागि साउन ५ र ६ गतेको समय छुट्याइएको छ भने साउन ७ गते पहिलो सुनुवाइ गर्ने समितिको तयारी रहेको छ। समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट पदमा नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ।
यसैबीच संसदीय सुनुवाइ प्रक्रियालाई थप व्यवस्थित र वस्तुनिष्ठ बनाउन यस पटक समितिले नयाँ ‘स्ट्यान्डर्ड टुल्स’ तयार गरेको छ। नयाँ नियमअनुसार उजुरीमाथिको छलफलका क्रममा उजुरीकर्ताले आफ्नो तर्फबाट कुनै पनि कानुन व्यवसायी लैजान पाउने छैनन्। उजुरीकर्ता आफैँ समितिसमक्ष उपस्थित भएर आफ्नो उजुरीको औचित्यबारे स्पष्ट पार्नुपर्ने व्यवस्था गरिएको छ। यद्यपि, अशक्त वा अपाङ्गता भएका उजुरीकर्ताहरूको हकमा भने सहयोगका लागि एक जना सहयोगी साथमा लैजान पाउने छुट दिइएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन्।