मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालन, विद्युत् आपूर्ति थप भरपर्दो हुने
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
325
Shares
काठमाडौँ। मार्किचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह शुरू भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको पहलमा शनिबार दिउँसो ३ बजेदेखि प्रशारण लाइन सञ्चालनमा आएको हो।
प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै पुगेर स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेका थिए। लाइन सञ्चालनसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्म विद्युत् आपूर्ति थप भरपर्दो र प्रभावकारी हुने मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठका अनुसार नयाँ प्रसारण लाइनले ट्रिपिङ तथा पटक-पटक बत्ती जाने समस्या न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
विशेषगरी बर्खायाममा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने भएकाले कम क्षमतामा विद्युत् गृह सञ्चालन गर्नुपर्ने बाध्यता पनि हट्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट उपयोग हुन नसकेको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रसारण प्रणालीमा प्रभावकारी रूपमा समाहित हुने जनाएको छ।
मन्त्री श्रेष्ठले यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धितर्फको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन्।
तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रशारण लाइनमार्फत विद्युत् प्रवाह सुरु गरिएको हो।