arrow

गृहमन्त्रीसहित छ मन्त्री पुगे होल्डिङ सेन्टरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
holding-center-minister.jpg

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित सरकारका विभिन्न मन्त्रीहरूको टोलीले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेर त्यहाँ राखिएका सुकुमवासीहरूको अवस्थाबारे स्थलगत अवलोकन र निरीक्षण गरेका छन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरूलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो।

अनुगमन टोलीमा गृहमन्त्री गुरुङका साथै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव सहभागी थिए। मन्त्रीहरूको टोलीले त्यहाँ बसोबास गरिरहेका सुकुमवासीहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको तत्कालीन र दीर्घकालीन व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

अवलोकनका क्रममा सञ्चारकर्मी र स्थानीयसँग कुरा गर्दै भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले सुकुमवासी समस्याको दिगो समाधानका लागि सरकार दृढ रहेको बताइन्। उनले भनिन्, "आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले योजनाबद्ध काम गरिरहेको छ।"

सुकुमवासी व्यवस्थापन एक जटिल विषय भएकाले यसको पूर्ण र व्यवस्थित समाधानका लागि केही समय लाग्ने मन्त्री रावलले स्पष्ट पारिन्। उनले वास्तविक पीडितको पहिचान गरी न्याय दिलाउने काम भइरहेकाले सुकुमवासीका नाममा कसैलाई पनि राजनीति नगर्न समेत आग्रह गरिन्। अस्थायी शिविरमा रहेका बालबालिका, महिला र ज्येष्ठ नागरिकको स्वास्थ्य तथा सुरक्षालाई ध्यान दिँदै सरकारले आवश्यक प्रबन्ध मिलाउने मन्त्रीहरूले प्रतिबद्धता जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ