‘सरकार पीडितको साथमा छ’, घाइतेलाई जीविकोपार्जनका लागि जनही ५ लाख सहयोग
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
455
Shares
काठमाडौँ । बागमती प्रदेशकी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग प्रत्यक्ष भेट गरी पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
गत असार २० गते राति करिब ११:३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बस्ने २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको दुःखद निधन भएको घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरिन्।
यसै क्रममा मन्त्री चौधरीले सोही हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सूर्य महतो र मङ्गले बोटेसँग पनि भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। घाइतेहरूको उपचार र आगामी दिनको जीविकोपार्जनमा राहत पुगोस् भन्ने उद्देश्यले सरकारका तर्फबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी सो अवसरमा दिइयो।
मानव–वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्नु सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री चौधरीले निकुञ्ज आसपासका क्षेत्रमा पीडितहरूलाई समयमै राहत, गुणस्तरीय उपचार र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था प्रभावकारी रूपमा अघि बढाइने प्रतिवद्धता जनाइन्। यस्ता हृदयविदारक घटनाहरू पुनः दोहोरिन नदिन सम्बन्धित सबै निकायलाई उच्च सतर्कता अपनाउन र निकुञ्ज आसपासका बस्तीको सुरक्षाका लागि दीर्घकालीन योजना तत्काल कार्यान्वयन गर्न उनले निर्देशन समेत दिएकी छन्।