arrow

गणेश नेपाली आत्मदाहमाथि स्वतन्त्र छानबिनको माग

जर्ज फ्लोयडसँग तुलना गर्दै उठायो जातीय विभेदको प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
ganesh-nepali-.jpg

काठमाडौँ । अधिकारवादी संस्था ‘सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिस’ ले २५ वर्षीय दलित युवा गणेश नेपालीको दुःखद आत्मदाह र निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार बिहीबार दिउँसो काठमाडौँस्थित एक सरकारी कार्यालय बाहिर राहदानी (पासपोर्ट) बनाउन पुगेका गणेश नेपालीको आफ्नै शरीरमा आगो लगाएका कारण मृत्यु भएको थियो। कार्यालय परिसरमा मोटरसाइकल निषेधित स्थानमा पार्क गरेको आरोपमा महानगरीय प्रहरीका कर्मचारीहरूले उनलाई १० हजार रुपैयाँ जरिवाना गरेपछि विवाद भएको थियो। सोही विवादका क्रममा चरम मानसिक तनावमा पुगेका नेपालीले मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकालेर आत्मदाह गरेका थिए।

सहयात्राले जारी गरेको विज्ञप्तिमा यस घटनालाई अमेरिकामा प्रहरी दमनका कारण ज्यान गुमाएका जर्ज फ्लोयडको प्रसङ्गसँग जोड्दै संस्थागत असफलताको गम्भीर नमुनाका रूपमा चित्रण गरिएको छ। "अमेरिकामा जर्ज फ्लोयडको मृत्यु र गणेश नेपालीको घटनाको परिस्थिति फरक भए पनि, दुवैले संस्थागत असफलताले मानव जीवनमा पार्न सक्ने गम्भीर प्रभावबारे प्रश्न उठाउने साझा सन्देश दिएका छन्," विज्ञप्तिमा भनिएको छ।

संगठनले थपेको छ, "गणेश नेपालीको मृत्यु न्याय, समानता र राज्यको जवाफदेहिताको एउटा महत्त्वपूर्ण परीक्षा हो। यदि अनुसन्धानले निरन्तर अपमान, त्रास, विभेदपूर्ण व्यवहार वा राज्यसत्ताको अत्यधिक प्रयोगले उनलाई यस्तो चरम कदम चाल्न बाध्य बनाएको निष्कर्ष निकालेमा, यो सार्वजनिक संस्थाहरूको गम्भीर असफलता प्रमाणित हुनेछ।"

सहयात्राले अनुसन्धानका क्रममा गणेश नेपालीले कानुनबमोजिम समान व्यवहार पाए/पाएनन् र उनको जातीय पहिचान (दलित समुदाय) का कारण प्रहरी वा प्रशासनले गर्ने व्यवहारमा कुनै पूर्वाग्रह राखेको थियो कि थिएन भन्ने विषयको निष्पक्ष परीक्षण हुनुपर्ने माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, "यदि गणेश नेपालीको थर 'नेपाली' नभएर सामाजिक रूपमा विशेषाधिकार प्राप्त समुदायको, उदाहरणका लागि 'शर्मा' भएको भए, सामान्य पार्किङ उल्लङ्घनको विषयमा पनि प्रहरीले यस्तै स्तरको दबाब वा दण्डात्मक व्यवहार गर्थ्यो कि गर्दैनथ्यो? यस्ता प्रश्नहरूको उत्तर अनुमानका आधारमा होइन, निष्पक्ष अनुसन्धानका आधारमा खोजिनुपर्छ।"

संगठनले नेपाल सरकारसँग कुनै पनि राजनीतिक वा संस्थागत प्रभावबाट मुक्त रहने गरी एक स्वतन्त्र अनुसन्धान समिति गठन गर्न र सत्यतथ्य नागरिकसामु ल्याउन आग्रह गरेको छ। साथै, अनुसन्धानको निष्कर्षका आधारमा आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिने गरी नीतिगत र संस्थागत सुधार लागू गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

सहयात्राले मृतक गणेश नेपालीका शोकसन्तप्त परिवारलाई उचित आर्थिक क्षतिपूर्ति, मनोसामाजिक परामर्श तथा दीर्घकालीन सहयोग उपलब्ध गराउन सरकारसँग अपिल गरेको छ। न्यायको मापन सार्वजनिक संस्थाहरूले प्रत्येक नागरिकको सम्मानको रक्षा गरे वा गरेनन् भन्ने आधारमा हुनुपर्ने भन्दै राज्यलाई पीडित परिवारको साथमा संवेदनशील भएर उभिन आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ