काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका—७ सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। आइतबार सेनाले हेलिकप्टर र स्काई ट्रकमार्फत उनीहरूलाई थप उपचारका लागि विभिन्न अस्पताल पुर्याएको हो।
नेपाली सेनाले जारी गरेको विज्ञप्ति अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाँच जना (तीन महिला र दुई पुरुष) लाई हेलिकप्टरबाट उद्धार गरी बाँकेको नेपालगञ्ज मेडिकल कलेज पुर्याइएको छ।
त्यसैगरी, स्वास्थ्य अवस्था निकै जटिल रहेका अन्य दुई जना पुरुष घाइतेहरूलाई सेनाको हेलिकप्टरमार्फत पहिले सुर्खेत ल्याइएको थियो। त्यहाँबाट उनीहरूलाई नेपाली सेनाकै स्काई ट्रकमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको सेनाले जनाएको छ। सोही हवाई उद्धारको क्रममा अर्की एक जना बिरामी बालिकालाई समेत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पुर्याइएको छ।
सुगुरेमा शनिबार भएको उक्त जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै ज्यान गएको थियो भने सात जना घाइते भएका थिए। दुर्गम क्षेत्र र सडक मार्गबाट तत्काल अस्पताल पुर्याउन कठिन भौगोलिक अवस्थाका कारण रक्षा मन्त्रालय र सेनाको समन्वयमा तत्कालै हवाई उद्धार टोली परिचालन गरिएको हो।