वर्षभरि सुनसान रहने जन्मथलोको मुहार फेर्न २४ करोडको गुरुयोजना
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
180
Shares
काठमाडौँ । असार महिना लागेपछि तनहुँको चुँदीरम्घामा छुट्टै चहलपहल सुरु हुन्छ। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलको सरसफाइ र रङरोगन गरिन्छ। साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावतले केही दिन यो क्षेत्र गुञ्जायमान बन्छ। तर, भानु जयन्ती सकिएलगत्तै यो ऐतिहासिक स्थल फेरि वर्षभरिका लागि ओझेल र सुनसान बन्ने गरेको छ।
नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पुर्याउने आदिकविको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घा हरेक वर्ष असार २९ को आसपासमा मात्रै चर्चामा आउने गरेको भन्दै स्थानीयले गुनासो गरेका छन्। स्थानीय सन्देश आचार्यका अनुसार जयन्तीका बेला सबै आएर भाषण गर्ने र ठूला योजना सुनाउने गरे पनि कार्यक्रम सकिएपछि कोही नफर्कंदा जन्मथलो वर्षभरि नै ओझेलमा पर्ने गरेको छ। स्थायी रूपमा साहित्यिक र पर्यटकीय गतिविधि हुन नसक्दा यहाँको ऐतिहासिक महत्त्वले अपेक्षित गति लिन सकेको छैन।
चुँदीरम्घालाई वर्षैभरि जीवन्त राख्न र यसलाई अन्तर्राष्ट्रियस्तरको साहित्यिक उद्यानका रूपमा विकास गर्न भानु नगरपालिकाले महत्वाकाङ्क्षी योजना अघि सारेको छ। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीका अनुसार सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि २४ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरिसकेको छ। चुँदीरम्घालाई केवल स्मारक स्थलमा मात्र सीमित नराखेर साहित्यिक पर्यटनको केन्द्र र सप्तधामका रूपमा विकास गर्ने लक्ष्यका साथ बजेट आइसकेकाले अब निर्माण कार्यले गति लिने प्रमुख त्रिपाठीले बताए। गुरुयोजनाका लागि नगरपालिकाले ४३५ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ, जहाँ विभिन्न बहुआयामिक संरचनाहरू निर्माण गरिनेछन्।
यस गुरुयोजना अन्तर्गत रम्घाडाँडामा परम्परागत गोलघर शैलीको भानु भवन बन्नेछ, जसमा आदिकविको जीवन र साहित्यिक योगदान झल्काउने ऐतिहासिक सामग्रीहरू राखिनेछन्। सोही भवनमाथि ५४ फिट अग्लो पलेटी मारेर बसेको भानुभक्तको विशाल प्रतिमा निर्माण गरिनेछ, जुन यस क्षेत्रको प्रमुख आकर्षण बन्नेछ। यसका साथै नेपालका सातै प्रदेशका भाषा, साहित्य र संस्कृतिको प्रतिनिधित्व हुने गरी मूर्तिवाटिका, भानु साहित्यिक ग्राम, भानुबस्ती र भानु प्रज्ञा भवन निर्माण गरिनेछ। बगान व्यवस्थापनका लागि वनस्पति उद्यान, वनभोजस्थल, पार्किङ क्षेत्र, सप्तधाम निर्माण तथा चुँदीरम्घादेखि शिखरकटेरीसम्म पुग्ने सडकको स्तरोन्नति र सुविधासम्पन्न सिँढी निर्माण गर्ने योजना समेत अघि बढाइएको छ।
यो ठूलो योजना केवल घोषणामा मात्र सीमित नभई समयमै कार्यान्वयन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन्। गुरुयोजना पूर्ण रूपमा सफल भएमा चुँदीरम्घामा वर्षैभरि पर्यटक, साहित्यकार र अनुसन्धानकर्ताहरूको आगमन हुने स्थानीय शङ्कर रानाभाट बताउँछन्। यसले ऐतिहासिक धरोहरको संरक्षण गर्नुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना, पर्यटन व्यवसायको प्रवर्द्धन र समग्र आर्थिक गतिविधिलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ।