जाजरकोटमा पहिरोले भूकम्पपीडितको अस्थायी टहरा पुर्दा एक महिलाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
182
Shares
काठमाडौँ । जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले भूकम्पपीडित बस्दै आएको अस्थायी टहरा पुर्दा एक महिलाको दुःखद मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका–२ राङ्सी निवासी ६० वर्षीया जयशिला शाहको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको निरन्तर वर्षाका कारण बस्तीमाथिबाट पहिरो खसेको थियो। उक्त पहिरोले २०८० साल कार्तिक १७ गतेको विनाशकारी भूकम्पपछि पीडित परिवारका लागि निर्माण गरिएको अस्थायी टहरालाई पुरेको थियो। राति सुतिरहेको अवस्थामा टहरा पुरिँदा शाह बाहिर निस्कन पाइनन्।
दुर्घटनामा परेकी शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापालाई भने स्थानीय बासिन्दा र सुरक्षाकर्मीको तदारुकताका कारण सकुशल उद्धार गर्न सफल भएको छ। पहिरो खस्नासाथ छिमेकी र सुरक्षाकर्मीले उद्धार कार्य सुरु गरेका थिए। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। निरन्तरको वर्षाले भूकम्प प्रभावित क्षेत्रका अस्थायी टहराहरू थप जोखिममा परेका छन्।