arrow

बजेट कार्यान्वयनको परम्परागत शैली फेर्न आग्रह

साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
aasis-gajurel.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आगामी नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रम कार्यान्वयनमा पूर्ण तदारुकता देखाउन सरकारसँग जोडदार माग गरेका छन्।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रम संसद्‌बाट पारित भइसकेकाले अब सरकारको सम्पूर्ण ध्यान र ऊर्जा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए।

आगामी साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन लागेको सन्दर्भ जोड्दै उनले सोही दिनदेखि नै विकास आयोजनाहरूको बोलपत्र (टेन्डर) आह्वान प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे।

उनले संसद्‌मा सुझाव दिँदै भने, "साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेन्डरले भरिनुपर्छ, आवश्यक परे पाना थप गरेर भए पनि सूचनाहरू प्रकाशित हुनुपर्छ। यसो भएमा मात्र पुँजीगत खर्च वृद्धि गर्न र विकासका योजनाहरूलाई गति दिन सम्भव हुन्छ।"

स्पष्ट कार्ययोजना विना काम गर्दा वर्षको अन्त्यमा मात्र बजेट हतारहतार खर्च गर्ने (असारे विकास) प्रवृत्ति दोहोरिने र त्यसले पुँजीगत खर्चको अवस्था सधैँ कमजोर रहने भन्दै उनले चिन्ता व्यक्त गरे। सुरुवाती दिनदेखि नै काम नथाल्दा जनतामा राज्यप्रति नकारात्मक सन्देश जाने उनको तर्क थियो।

"यदि स्पष्ट कार्ययोजना नबनाउने र विगतमा जस्तै ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको विवरण प्रस्तुत गर्ने हो भने हामी जनतासामु जवाफदेही हुन सक्दैनौँ," सांसद गजुरेलले सचेत गराए। उनले बजेट कार्यान्वयनको प्रक्रियालाई पहिलो महिना र पहिलो दिनदेखि नै व्यवस्थित र पारदर्शी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ