गृहमन्त्रीका स्वकीय सचिवले फोन नउठाएको भन्दै रास्वपाकै सांसदको आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
387
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति गम्भीर प्रश्न उठाएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले गृह प्रशासन नागरिकका समस्या सुन्नबाट पन्छिएको आरोप लगाएकी हुन्।
सांसद बानुले गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाएको गुनासो तारन्तार आइरहेको संसद्मा जानकारी गराइन्। "म सरकारको एउटा गम्भीर कमजोरीतर्फ ध्यानाकर्षण गराउन चाहन्छु," उनले भनिन्, "जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृहमन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासाहरू व्यापक रूपमा आइरहेका छन्।"
नागरिकको समस्या सुन्नु सरकारको पहिलो र मुख्य जिम्मेवारी भएको बताउँदै उनले संकटका बेला सम्बन्धित निकाय वा मन्त्रालयबाटै यस्तो गैरजिम्मेवार व्यवहार हुनु दुःखद भएको बताइन्। यस्ता गतिविधिले राज्य र सरकारी संयन्त्रप्रतिको जनविश्वास कमजोर बनाउने उनको चेतावनी थियो।