होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन कांग्रेसको माग
प्रधानमन्त्री संसद्प्रति अनुत्तरदायी भएको आरोप
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
232
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूलाई पाँच दिनभित्र हटाउने सरकारको निर्णयलाई 'अमानवीय अल्टिमेटम' भन्दै तत्काल फिर्ता लिन माग गरेकी छन्।
बिहीवार प्रतिनिधि सभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै सांसद कामीले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारसँग तत्काल ठोस कार्ययोजना सार्वजनिक गर्न माग गरेकी हुन्।
सांसद कामीले सरकारले सुकुमवासीहरूका समस्यालाई नगद बाँडेर अस्थायी रूपमा सामसुम पार्न खोजेको भन्दै त्यसको कडा विरोध गरिन्। सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने उल्लेख गर्दै उनले भनिन्, "५ दिनभित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम तत्काल फिर्ता लिइयोस्। लगतबाट छुटेका वास्तविक सुकुमवासीको निष्पक्ष पहिचान गरी उनीहरूलाई पनि सम्मानसहित राहतको व्यवस्था गरियोस्।" उनले अस्थायी रूपमा रकम बाँड्नुको साटो उनीहरूका लागि सुरक्षित आवास र दीर्घकालीन व्यवस्थापनको कार्ययोजना ल्याउन सरकारलाई आग्रह गरिन्।
सम्बोधनका क्रममा सांसद कामीले प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संसद् र जनप्रतिनिधिहरूका प्रश्नप्रति उदासीन रहेको भन्दै आक्रोशसमेत व्यक्त गरिन्। प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको र जनताका संवेदनशील समस्याहरूलाई कार्यपालिकाले बेवास्ता गरेको उनको आरोप थियो।