राष्ट्र बैंक र पर्यटन विधेयक संसदीय समितिमा, दफावार छलफलको खुल्यो बाटो
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
262
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाले दुई महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। यो विधेयक पारित भएसँगै केन्द्रीय बैंकको कानुनी परिमार्जनका लागि विस्तृत छलफलको बाटो खुलेको छ।
त्यसैगरी, बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'पर्यटन विधेयक, २०८२' लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई समेत बैठकले सर्वसम्मतिले स्वीकृति दिएको हो।
यी दुवै विधेयकहरू अब सम्बन्धित संसदीय समितिमा पुगेर दफावार छलफल भएपछि संशोधन र परिमार्जनसहित पुनः प्रतिनिधि सभामा पेस हुनेछन्।