समितिमा मानव अधिकार, खानेपानी र विधि विज्ञान प्रयोगशालामाथि छलफल गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
273
Shares
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतका तीनओटा विषयगत समितिहरूको बैठक आज बुधबार बस्दैछ। आज कानून, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।
कानून, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक बिहान ९ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ। बैठकमा देशको वर्तमान मानव अधिकारको अवस्था, विद्यमान समस्या तथा यसको संवर्द्धनमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिकाका विषयमा आयोगका पदाधिकारीहरूसँग छलफल गरिने छ। यसका साथै बैठकमा 'बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३' पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी पूर्वाधार विकास समितिको बैठक बिहान ८ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा सुरु भएको छ। आजको बैठकमा मुलुकभरको खानेपानीको समग्र व्यवस्थापन, चुनौती र आगामी कार्यदिशाका सम्बन्धमा सरोकारवाला निकायहरूसँग विस्तृत छलफल गरिने कार्यसूची रहेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ८:३० बजेदेखि समितिको बैठक कक्षमा जारी छ। बैठकमा 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१' को सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची छ। उक्त विधेयकमाथिको छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, कानून मन्त्रालयका कार्यकारी निर्देशक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विषय विज्ञ डा. गोपाल चौधरीलाई विशेष आमन्त्रण गरिएको छ।