arrow

राष्ट्रिय सभामा कृषिमन्त्री चौधरीले भनिन्- धानबालीका लागि मल अभाव हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
gita-chaudharys.jpg

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्षको धानबालीका लागि आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेकी छन्।

मङ्गलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले धान सिजनका लागि मलको पर्याप्त व्यवस्था गरिएको स्पष्ट पारेकी हुन्। उनले मलको अभाव हुन नदिन र वितरणलाई व्यवस्थित बनाउन सङ्घीय तथा प्रादेशिक मन्त्रालयहरूमा गुनासो सुनुवाइका लागि छुट्टै 'सम्पर्क व्यक्ति' को समेत व्यवस्था गरिएको जानकारी दिइन्।

सांसदहरूलाई आश्वस्त पार्दै मन्त्री चौधरीले भनिन्, ‘हाल बजारमा ९५ हजार मेट्रिक टन मल मौज्दात छ। यसका साथै सरकार-देखि-सरकार (जीटूजी) प्रक्रियामार्फत थप ५० हजार मेट्रिक टन मल चाँडै आपूर्ति हुने क्रममा रहेको छ। यसले गर्दा धान सिजनमा मलको कुनै अभाव हुने देखिँदैन।’

उनले मल खरिदका लागि बजेटको अभाव हुन नदिने सन्दर्भमा अर्थ मन्त्रालयबाट सकारात्मक प्रतिबद्धता आएको समेत सदनलाई अवगत गराइन्। आवश्यक परेको खण्डमा अर्थ मन्त्रालयले थप बजेट उपलब्ध गराउने आश्वासन दिएको उनको भनाइ छ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि समेत मल आपूर्ति तथा व्यवस्थापनको ठोस कार्ययोजना तयार पारिसकेको मन्त्री चौधरीले बताइन्। रासायनिक मलका साथै कृषकहरूका लागि आवश्यक उन्नत बीउबिजनको समेत अभाव हुन नदिने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ