राष्ट्रिय सभाको बैठक बस्दै : बजेट पारित गर्ने र मन्त्रीहरूले जवाफ दिने कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
372
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक मध्याह्न सवा १२ बजेदेखि सुरु हुँदैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको बजेट शीर्षकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने मुख्य कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न शीर्षकहरूमा उठेका प्रश्नको जवाफ दिइनेछ।
मन्त्रीहरूको जवाफ सकिएपछि राष्ट्रिय सभाका अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदहरूका तर्फबाट प्रस्तुत भएका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी आजकै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
साथै अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाटै सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।