विज्ञान प्रविधिमा ऐन-नियम बनेपछि मात्रै अबण्डाको रकम खर्च हुन्छ: मन्त्री पुन
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
274
Shares
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयले विज्ञान प्रविधिको क्षेत्रमा हालसम्मकै ऐतिहासिक र ठुलो रकम छुट्याएको बताएका छन्।
सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ को मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले यस्तो जानकारी दिएका हुन्। विगतमा विज्ञान तथा प्रविधिका क्षेत्रमा कहिल्यै यति ठूलो बजेट विनियोजन नभएको उल्लेख गर्दै उनले यसअघि २०८० सालमा १ अर्ब रुपैयाँसम्म छुट्याइए पनि आवश्यक कानुनी व्यवस्था नहुँदा सो रकम खर्च हुन नसकेको स्मरण गरे। सोही कारण हाल धेरै मानिसलाई यो रकम कहाँ र कसरी खर्च होला भन्ने उत्सुकता र अचम्म बढेको उनको भनाइ थियो।
अनुसन्धान र आविष्कारका लागि ४ अर्ब रुपैयाँ एकदमै कम रकम भए पनि नेपालको अहिलेको सुरुवातका लागि भने यो पर्याप्त रहेको मन्त्री पुनले बताए। खर्च गर्ने ठोस कार्यक्रम निर्धारण गर्न बाँकी रहेकाले विनियोजित ४ अर्ब रुपैयाँमध्ये ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको उनले संसद्मा प्रष्ट पारे। मन्त्रालयका अघिल्ला पुराना कार्यक्रम सञ्चालनका लागि ६० करोड रुपैयाँ छुट्याइएको र बाँकी ३ अर्ब ४० करोड रुपैयाँको खर्च योजना ऐन तथा नियमावली बनेपछि मात्रै तय गरिने उनले जानकारी दिए।
मन्त्री पुनले भने,‘सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई ४ अर्ब रुपैयाँ छुट्याएको छ, यो भनेको पुँजीगत खर्चको एक प्रतिशत मात्रै हो। पुराना कार्यक्रममा ६० करोड छुट्याएर बाँकी ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको छ। जेठ १५ गते बजेट आउँदाखेरि के गर्ने, कसो गर्ने भन्ने थाहा नै थिएन, त्यही भएर अवण्डामा राखिएको हो। यो वैज्ञानिक भएन भन्ने कुरा पनि छ, वैज्ञानिक त भएन तर अबण्डामा राखेर पनि काम गर्ने चलन रहेछ, त्यसकारण यो कानुन विपरीत पनि भएन होला। ऐन, नियमावली नबनेसम्म खर्च गर्न पाइँदैन, ऐन कानुन नबनाई खर्च गरेमा अख्तियारले समात्छ। त्यसैले अहिले हामी यसको ऐन र नियमावली बनाउँदैछौँ।’
मन्त्री पुनले देशका युवाहरूलाई विज्ञान तथा नवप्रवर्तनको क्षेत्रमा लाग्न मन्त्रालयले विशेष प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए। केन्द्र सरकारले मात्र नभई स्थानीय र प्रदेश सरकारले पनि विज्ञान प्रविधिको क्षेत्रमा अनिवार्य रूपमा बजेट छुट्याउनुपर्नेमा उनले जोड दिए। केवल भौतिक पूर्वाधारको विकासले मात्रै देश समृद्ध नहुने भन्दै उनले देश विकासका लागि अर्थतन्त्र मजबुत बनाउनुपर्ने र अर्थतन्त्रको आकार बढाउन खोज, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको औँल्याए।
विज्ञान र प्रविधिको क्षेत्रमा गरिने खर्चलाई फजुल खर्च नभई भविष्यको ठुलो 'लगानी' को रूपमा बुझ्नुपर्नेमा उनले जोड दिए। विज्ञानमा लगानी नगरेका कारण नै नेपाल अहिलेसम्म पछाडि परेको दाबी गर्दै मन्त्री पुनले विश्वका विकसित सबै देशहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा ठुलो लगानी गरेकै कारण आज उनीहरू समृद्ध भएको प्रष्ट पारे।