आर्थिक परिसूचकहरू सबल छन्, आगामी मौद्रिक नीति लचिलो आउँछ: पूर्वगभर्नर अधिकारी
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
334
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति लचिलो (एकोमोडेटिभ) हुने बताएका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिमा आगामी मौद्रिक नीतिका बारेमा भएको छलफलमा बोल्दै उनले हालको अवस्थामा मौद्रिक नीतिलाई कसिलो बनाउनुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पारे।
पूर्वगभर्नर अधिकारीले देशमा मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले ब्याजदर तथा अन्य मौद्रिक उपकरणहरूलाई थप कडा बनाउनु पर्ने आधार नदेखिएको उल्लेख गरे। "मौद्रिक नीति अत्यन्तै प्राविधिक र अनुमानयोग्य विषय हो," उनले भने, "देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्छ। हाल यी फन्डामेन्टल्स बलियो भएकाले केन्द्रीय बैंकले बैंक दर, नीतिगत दर वा ब्याजदर कोरिडोरलाई थप कसिलो बनाउने देखिँदैन।" राष्ट्र बैंकभित्र रहेका उच्चस्तरीय प्राविधिक जनशक्तिले विस्तृत विश्लेषण र लामो छलफल गरेर मात्र नीति तय गर्ने उनले जानकारी दिए।
पूर्वगभर्नर अधिकारीले आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागू गरिएका दीर्घकालीन नीतिहरूलाई बजारमा वित्तीय सहजता आएकै कारण हटाउन नहुने सुझाव दिए। हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) रहेको र मासिक करिब साढे दुई खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको यथार्थ भए पनि यसैलाई आधार मानेर महत्त्वपूर्ण नीतिहरू खारेज गरिएमा भविष्यमा संकट पर्दा तिनलाई पुनः कार्यान्वयन (बाउन्स ब्याक) गर्न निकै कठिन हुने उनले चेतावनी दिए।
उनले क्षणिक दबाब वा मागका भरमा नीतिहरू खुकुलो पार्नुभन्दा देशको दीर्घकालीन आर्थिक सुधार र आन्तरिक उत्पादनलाई नै केन्द्रमा राखेर राष्ट्र बैंकले आगामी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिए।