बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न राष्ट्रिय सभामा माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
301
Shares
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण मुलुकका विभिन्न राजमार्ग र सडक बाढीपहिरोले अवरुद्ध भएको भन्दै ती सडकखण्ड यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। मुलुकभर सडक अवरुद्ध हुँदा आम नागरिकको जनजीवन नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उनीहरूले तत्काल मर्मतसम्भार गरी यातायात सहज बनाउन आग्रह गरे।
सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउँदै मुग्लिन–नारायणगढ–काठमाडौँ सडकखण्ड लगायत डोटी र बैतडीमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्। उनले मुख्य राजमार्गमा देखिएका अवरोध तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराइन्। यस्तै, सांसद दुर्गा गुरुङले मनसुन सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लाका सडक बाढीपहिरोले ठप्प हुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउनसमेत कठिनाइ भइरहेको बताउँदै बर्सेनि दोहोरिने यो समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरिन्।
बैठकमा सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरे। अर्का सांसद नारायणदत्त मिश्रले सरकारले रासायनिक मल (डिएपी) महँगो मूल्यमा खरिद गरेको आशंका गर्दै नेपाल र भारतबीच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने धारणा राखे।
यसैगरी, सांसद युवराज शर्माले काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण अवरुद्ध भएकाले नियमित खानेपानी आपूर्तिको व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्ने माग गरे। अर्का सांसद सुरेशकुमार आले मगरले भने सांसदहरूले सदनमा उठाएका प्रश्नको सरकारले उचित जवाफ नदिएको गुनासो गर्दै त्यसको विरोधस्वरूप आजको बैठकमा आफूले कुनै पनि जिज्ञासा नराखेको प्रष्ट पारे।