'बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै'
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
181
Shares
काठमाडौँ । नेकपा (एमाले) की राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन नै कायम नहुने गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो कुरा बताएकी हुन्।
सांसद झाँक्रीले बजेटमा खुद्रे र साना-साना आयोजनाहरूका लागि जथाभाबी बजेट छरिएको दाबी गरिन्। यसरी कनिका छरेझैँ बजेट विनियोजन गर्ने प्रवृत्तीले सरकारले वित्तीय अनुशासन पालना गर्न नचाहेको स्पष्ट हुने उनको भनाइ छ। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् र सार्वजनिक मञ्चहरूमा देशको अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने दाबी गरे पनि व्यवहारमा भने सोहीअनुसारको बजेट ल्याउन नसकेको जिकिर गरिन्।
छलफलका क्रममा आफ्नो धारणा राख्दै सांसद झाँक्रीले भनिन्, “माननीय अर्थमन्त्रीज्यूले राज्यको अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने भन्नुभएको छ। तर त्यो स्वरूप कसरी परिवर्तन हुन्छ? बजेटमा त त्यसको कुनै खाका र कार्यक्रम नै देखिँदैन। वित्तीय अनुशासनको दृष्टिले हेर्ने हो भने पनि साना-साना स्केलका खुद्रे कार्यक्रमहरूलाई जसरी बजेटमा ठाउँ दिइएको छ, त्यसले देशमा वित्तीय अनुशासन कायम गर्ने कुरा कतै देखाउँदैन। बजेटमा केवल पुराना र परम्परागत कुराहरूलाई नै दोहोर्याइएको छ। रणनीतिक महत्त्वका योजनाका लागि पर्याप्त बजेट नै छैन। अनि यस्तो बजेटले कसरी मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सक्छ?”
यसका साथै सांसद झाँक्रीले यो बजेटले आम जनताको विकास र समृद्धिको वास्तविक चाहना एवं राष्ट्रिय अभियानलाई कतैबाट पनि छुन नसकेको टिप्पणी समेत गरिन्।