मन्त्री लम्सालको प्रतिवद्धता: तीन वर्षभित्र दुई लेन बन्नेछन् कर्णालीका सडक
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
399
Shares
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन्।
मङ्गलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन्। कर्णाली क्षेत्रको यातायात सहज र सुरक्षित बनाउन सडक र पुलको निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए।
हाल निर्माणाधीन सडक खण्डहरूमा करिब ९ वटा पुलहरू ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिँदै मन्त्री लम्सालले स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुलहरू निर्माण गरिने स्पष्ट पारे। पुल र सडकको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधान गर्न आफू आगामी साउन ३ गते स्थलगत निरीक्षणमा जाने समेत उनले सभालाई जानकारी दिए।
"हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ। यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम शुरु गरिनेछ," मन्त्री लम्सालले भने, "पहिचान भएका पहिरोहरूको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ। आगामी तीन वर्षभित्र पहिरोको समस्या अन्त्य गर्ने गरी काम भइरहेको छ।"
उनका अनुसार मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्याउन पर्याप्त बजेट विनियोजन गरिएको छ र यसै वर्ष टेण्डर प्रक्रिया अगाडि बढ्नेछ। सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति अनिवार्य रहेको उनले औंल्याए।
यसका साथै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको उत्तरी सीमा (चीनको सीमाना) सम्म सडक सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको मन्त्री लम्सालले बताए। स्थलगत निरीक्षणबाट फर्केपछि सडक र पुलको थप विस्तृत विवरण सदनमा पेस गर्ने उनले प्रतिवद्धता जनाए।