'यो देश कालो चश्मा, कालो कोट र कालै गाडीमा हुइकिनेहरूको मात्र होइन'
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
382
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र साहलाई लक्षित गर्दै सत्ताको उन्मादमा गरिब र शक्तिहीन नागरिकमाथि अत्याचार नगर्न चेतावनी दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता आङदेम्बेले सरकार मानवीय संवेदना शून्य बनेको आरोप लगाए।
कुनै पनि नागरिकको बसोबास गैरकानुनी हुन सके पनि उसको जन्म र पहिचान गैरकानुनी हुन नसक्ने भन्दै उनले सुकुम्बासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी र मानवीय ढंगले गर्न माग गरे। वर्षायामको मुखमा कुनै वैकल्पिक व्यवस्था नै नगरी हजारौँ सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई बलपूर्वक विस्थापित गरिनु क्रूरता भएको उनको भनाइ थियो।
प्रधानमन्त्री साहको कार्यशैलीप्रति कटाक्ष गर्दै नेता आङदेम्बेले संसद्मा आक्रोशपूर्ण ढंगले प्रश्न गरे,‘के यो देश ठूला बडाको मात्रै हो? कालो चश्मा लाउने, कालै कोट र कालै पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो सभामुख महोदय? सुकुम्वासी, अव्यवस्थित बसोवासी, गरिब, किसान र मजदुरहरूको यो देश होइन? होइन भने भन्नुछोड्नुपर्यो। यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिकमाथि?’
एउटा परिवारलाई हटाउनुअघि वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाहरू भोलि कहाँ बस्छन् भन्ने न्यूनतम हेक्का समेत राज्यले नराखेको भन्दै उनले आपत्ति जनाए। हिजो व्यवस्थापनको नाममा आश्रयस्थलमा राखिएका सुकुम्बासीहरूलाई आज रातारात धपाइएको भन्दै उनले यो लोक कल्याणकारी राज्यको चरित्र अनुकूल नभएको जिकिर गरे।
सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले थपे, ‘कुनै पनि नागरिकको बसोवास गैरकानूनी थियो होला सभामुख महोदय। तर उसको जन्म त गैरकानूनी थिएन होला नि। जन्म दिने आमाको गर्भ त गैरकानूनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मनु पनि गैरकानूनी थिएन होला नि! त्यसैले मेरो विनम्र आग्रह छ— सुकुम्वासी समस्या समाधान गरौँ, तर मानवीय ढङ्गले गरौँ। मानव मर्यादालाई ख्याल गरौँ, सत्ताको उन्मादमा होइन।’