arrow

बर्डफ्लू फैलिएपछि विज्ञको सुझाव - नआत्तिनुस्, सावधानी अपनाउनुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
chicken-birdflue.jpg

काठमाडौँ। नेपालका विभिन्न जिल्लामा बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै गएपछि सर्वसाधारणमा त्रास बढेको छ।

विशेषगरी काठमाडौँ, ललितपुर र भक्तपुरमा संक्रमण पुष्टि भएपछि उपत्यका मुख्य ‘हटस्पट’का रूपमा देखिएको छ। तर स्वास्थ्य विज्ञहरूले आवश्यक सावधानी अपनाएमा अनावश्यक डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार बर्डफ्लू मुख्यतः कुखुरा तथा अन्य चराचुरुङ्गीमा लाग्ने भाइरसजन्य रोग हो।

संक्रमित कुखुरा वा चराचुरुङ्गीसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिमा संक्रमण सर्न सक्ने भए पनि मानिसबाट मानिसमा सर्ने सम्भावना अत्यन्त न्यून रहेको उनले बताए।

डा. चालिसेका अनुसार स्वस्थ कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा डराउनुपर्ने आवश्यकता छैन।

“७० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा राम्रोसँग पकाउँदा भाइरस नष्ट हुन्छ। तर संक्रमित कुखुरा वा संक्रमित भएको आशंका भएको फार्मको मासु तथा अण्डा भने प्रयोग गर्नु हुँदैन,” उनले भने।

मानिसमा बर्डफ्लू भए आँखा रातो हुने, ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र खोकी लाग्ने जस्ता लक्षण देखिन सक्छन्।

जटिल अवस्थामा निमोनिया भएर अन्य अङ्गमा समेत असर पर्न सक्ने भएकाले संक्रमित क्षेत्रमा बस्ने वा कुखुरा फार्ममा काम गर्ने व्यक्तिमा यस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउन उनले सुझाव दिए।

चराचुरुङ्गीमा भने अचानक ठूलो सङ्ख्यामा मर्नु, अण्डा उत्पादन घट्नु तथा घाँटी सुन्निनु बर्डफ्लूका प्रमुख संकेत हुन्। यद्यपि प्रयोगशालामा परीक्षण नगरी निश्चित रूपमा रोग पुष्टि गर्न नसकिने उनले स्पष्ट पारे।

उनका अनुसार बर्डफ्लू केवल व्यावसायिक कुखुरामा मात्र सीमित रोग होइन। यो जङ्गली चराचुरुङ्गीसहित सबै प्रकारका चरा प्रजातिमा देखिन सक्छ।

बर्डफ्लूबाट बच्न कुखुरा फार्ममा काम गर्नेहरूले मास्क, पञ्जा र सुरक्षात्मक पोसाक प्रयोग गर्नुपर्ने, कुखुरा अस्वाभाविक रूपमा मर्न थालेमा सम्बन्धित निकायलाई तुरुन्त जानकारी दिनुपर्ने तथा सर्वसाधारणले मासु र अण्डा राम्रोसँग पकाएर मात्र खानुपर्ने उनले सुझाव दिए। साथै हातको सरसफाइमा विशेष ध्यान दिन र संक्रमण फैलिएको क्षेत्रमा जाँदा मास्क प्रयोग गर्न पनि आग्रह गरे।

डा. चालिसेले एउटै फार्ममा केही कुखुरा मरेपछि बाँकी जीवित देखिएका कुखुरा पनि सुरक्षित नहुन सक्ने भएकाले त्यस्ता कुखुराको मासु प्रयोग गर्नु जोखिमपूर्ण हुने बताए।

उनका अनुसार बर्डफ्लू नियन्त्रणका लागि ‘एक स्वास्थ्य’ अवधारणाअनुसार मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय पक्षलाई एकसाथ समेटेर काम गर्न आवश्यक छ। समयमै संक्रमण पहिचान, परीक्षण र जनचेतना नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए।

बर्डफ्लू देखिएको समयमा अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्नु, संक्रमित चराचुरुङ्गीबाट टाढा रहनु र खाद्य सामग्री राम्ररी पकाएर खानु नै आफू र परिवारलाई सुरक्षित राख्ने सबैभन्दा प्रभावकारी उपाय हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ