दश जिल्लामा बर्डफ्लू फैलियो, पाँच लाखभन्दा बढी पन्छी नष्ट
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
213
Shares
फाइल तस्बिर
काठमाडौँ। सरकारले बर्डफ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र थप फैलिन नदिन आकस्मिक अभियान तीव्र बनाएको छ।
पशु सेवा विभागका अनुसार हालसम्म १० जिल्लामा बर्डफ्लू पुष्टि भइसकेको छ भने ७२ ओटा फार्मका पाँच लाख १५ हजारभन्दा बढी पन्छी नष्ट गरिएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार सबैभन्दा बढी लेयर्स र स्थानीय जातका कुखुरा प्रभावित भएका छन्। द्रूत कार्य टोलीले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको छ।
केही साताअघि झापा, मोरङ र सुनसरीबाट शुरू भएको सङ्क्रमण महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासीसम्म फैलिएको छ।
डा. दाहालले बर्डफ्लूको उपचार नभएकाले सङ्क्रमण देखिएलगत्तै प्रभावित पन्छीजन्य उत्पादन नष्ट गरेर रोग नियन्त्रण गर्नुको विकल्प नरहेको बताए।
उनका अनुसार काठमाडौँ उपत्यका अहिले उच्च जोखिममा रहे पनि चितवनलगायत केही जिल्लामा अवस्था नियन्त्रण उन्मूख छ।
प्रभावित क्षेत्रमा करिब दुई महिनापछि मात्र व्यवसाय पुनः सञ्चालन गर्न पाइने व्यवस्था छ।
बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ अनुसार नष्ट गरिएका पन्छीजन्य उत्पादनका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत उपलब्ध गराइने विभागले जनाएको छ।