arrow

जावलाखेल चिडियाखानामा बर्डफ्लू सङ्क्रमण नियन्त्रणउन्मुख

असार १२ गतेयता नयाँ केस नदेखिएको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
sadarchidiyakhana-central-zoo-83-3-5.jpg

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लू सङ्क्रमण हाल नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ। सङ्क्रमण देखिएलगत्तै चिडियाखाना पूर्ण रूपमा बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको विशेष उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपायहरू अपनाइएको थियो।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लू भाइरस नियन्त्रणका लागि निरन्तर कीटाणुनाशक औषधि छर्किने, जीवजन्तु राखिएका खोर तथा स्थानहरूको गम्भीरतापूर्वक सरसफाइ गर्ने र बिरामी जनावरको उपचार गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। उनले पछिल्लो प्रयोगशाला परीक्षणका आधारमा असार १२ गतेयता चिडियाखानाभित्र बर्डफ्लूको कुनै पनि नयाँ सङ्क्रमण नदेखिएको सकारात्मक जानकारी दिए।

सङ्क्रमणको वास्तविक अवस्था र यसको स्रोतबारे विस्तृत अध्ययन गर्न चिडियाखानामा एक बर्डफ्लू नियन्त्रण अध्ययन समितिसमेत गठन गरिएको छ। उक्त समितिले केही दिनभित्रै आफ्नो विस्तृत प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा प्राविधिक विज्ञहरूको राय लिएपछि हाल बन्द रहेको चिडियाखाना कहिलेदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गर्ने भन्ने विषयमा अन्तिम निर्णय गरिने सूचना अधिकारी कोइरालाले बताए।

पशु सेवा विभागले भने काठमाडौँ उपत्यकामा बर्डफ्लूको जोखिम अझै पूर्ण रूपमा टरिनसकेको जनाएको छ। विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा बर्डफ्लू तीव्र रूपमा फैलिरहेकाले व्यावसायिक पक्षीपालन र आम नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ।

चिडियाखाना प्रशासनले जीवजन्तुको सुरक्षा र सर्वसाधारणको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सबै सावधानी अपनाइरहेको छ। हाल चिडियाखाना बन्द रहे पनि सङ्क्रमण नियन्त्रणको अवस्था उत्साहजनक देखिएकाले विज्ञहरूको प्रतिवेदन आएलगत्तै पुनः सञ्चालनबारे आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ