arrow

बर्डफ्लू नियन्त्रण चुनौतीपूर्ण, १० जिल्लामा संक्रमण विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
bird-flu.jpg

काठमाडौँ । नेपालमा पछिल्लो समय बर्डफ्लू (एच५एन१) संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआईएस) र र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) को तथ्यांकअनुसार हालसम्म ५५ ओटा व्यावसायिक तथा घरेलु पक्षीपालन फार्ममा संक्रमण पुष्टि भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका निकायका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक गत चैत ४ गते झापाको सुन्दरहरैँचा-४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको थियो। त्यसयता संक्रमण कोशी प्रदेशबाट फैलिँदै मधेस, बागमती तथा अन्य क्षेत्रमा विस्तार भएको छ।

तथ्यांकअनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म चार लाख ७९ हजार १५६ ओटा पक्षी, ६ लाख ९४ हजार १९३ ओटा अण्डा र एक लाख ८२ हजार ७७५ किलोग्राम पशु आहार नष्ट गरिएको छ।

सबैभन्दा बढी प्रभावित सुनसरीमा २३ ओटा फार्ममा संक्रमण पुष्टि भएको छ। त्यहाँ दुई लाख ८५ हजार ५६४ ओटा पक्षी र चार लाख २७ हजार ५८० ओटा अण्डा नष्ट गरिएका छन्। मोरङमा ११ ओटा फार्म प्रभावित हुँदा एक लाख एक हजार ८६० ओटा पक्षी नष्ट गरिएको छ।

काठमाडौँ उपत्यकामा पनि संक्रमण फैलिँदै गएको छ। काठमाडौँमा आठ, ललितपुरमा तीन र भक्तपुरमा दुई ओटा फार्म प्रभावित भएका छन्। काठमाडौँमा मात्रै ३९ हजार ४८१ ओटा पक्षी नष्ट गरिएको तथ्यांकमा उल्लेख छ। संक्रमण प्रभावित अन्य जिल्लामा चितवन, झापा, बारा, पश्चिम नवलपरासी र महोत्तरी छन्।

सम्बन्धित निकायका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका पक्षी नष्ट गर्ने, अण्डा तथा दाना ओसारपसारमा नियन्त्रण गर्ने, सरसफाइ तथा निसंक्रमण अभियान सञ्चालन गर्नेलगायतका उपाय अवलम्बन गरिएको छ।

विशेषज्ञहरूले जंगली चराचुरुङ्गीको आवतजावत, फार्म नजिक सिमसार क्षेत्रको उपस्थिति, जैविक सुरक्षा मापदण्डको कमजोर पालना, सवारीसाधन तथा आगन्तुकको अनियन्त्रित प्रवेश, प्रयोग भएका अण्डा क्रेटको उचित निसंक्रमण नगरी पुनः प्रयोग तथा जीवित र मरेका पक्षीको असुरक्षित व्यवस्थापनलाई संक्रमण फैलनुका प्रमुख कारणका रूपमा औंल्याएका छन्।

अधिकारीहरूका अनुसार कोशी प्रदेशमा संक्रमण नियन्त्रणको चरणमा पुगेको देखिए पनि काठमाडौँ उपत्यकामा प्रभावित फार्मको संख्या बढ्दै गएकाले थप सतर्कता अपनाउन आवश्यक छ।

संक्रमणको जोखिम कायमै रहेकाले नियमित निगरानी, परीक्षण, सरसफाइ तथा जैविक सुरक्षा उपायको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन्। 

पशु स्वास्थ्य अधिकारीहरूले किसानलाई फार्ममा बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न, जंगली चरासँग सम्पर्क हुन नदिन तथा कुनै असामान्य रूपमा पक्षी मरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ