त्रिविका एमबीबीएस र बीडीएस विद्यार्थी माइतीघरमा उत्रिए
परीक्षा प्रणाली र ‘ब्याच ड्रप’ नियमको विरोध
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
386
Shares
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएसमा अध्ययनरत विद्यार्थीहरूले पुरानो र अव्यवहारिक परीक्षा प्रणाली विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा सामूहिक विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीको भविष्यमाथि नै गम्भीर असर पुर्याउने परीक्षा नियम र अन्यायपूर्ण ‘ब्याच ड्रप’ प्रावधानको खारेजीको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागी चिकित्सा शास्त्रका विद्यार्थीहरूले हातमा विभिन्न प्लेकार्ड, मागपत्र र विरोधका ब्यानरहरू बोकेका थिए। उनीहरूले बोकेका ब्यानरमा ‘हाम्रो अध्ययन, हाम्रो अधिकारः न्यायपूर्ण परीक्षा प्रणालीको लागि अत्याचार सहँदैनौँ’ र ‘चुप लाग्दैनौँ, अन्याय सहँदैनौँ, एकजुट होऔँ, परिवर्तन ल्याऔँ’ जस्ता कडा नाराहरू लेखिएका थिए। विद्यार्थीहरूले त्रिविको परीक्षा लिने वर्षौँ पुरानो पद्धतिलाई तत्काल परिमार्जन र सुधार गरी न्यायसङ्गत एवं वैज्ञानिक बनाउनुपर्ने अडान राखेका छन्।
आन्दोलित विद्यार्थीहरूले विशेष गरी ‘ब्याच ड्रप’ नियमको तीव्र विरोध गरेका छन्। यो प्रणालीका कारण कुनै परीक्षामा थोरै अङ्कले मात्र अनुत्तीर्ण हुने विद्यार्थीले पनि पूरै एक शैक्षिक वर्ष वा ब्याच नै गुमाउन बाध्य हुनुपर्ने उनीहरूको भनाइ छ। यस्तो नियमले विद्यार्थीहरूमा मानसिक तनाव बढाउने र समय बर्बाद गर्ने भएकाले यसलाई तत्काल सच्याउन उनीहरूले माग गरेका छन्।