वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता हो: कांग्रेस नेता आङदेम्बे
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
326
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्।
६८ औं संसद दिवसको अवसरमा मङ्गलबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा बोल्दै नेता आङदेम्बेले जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त भएका राजनीतिक उपलब्धिलाई कुनै पनि बहानामा सङ्कटमा पार्न नहुनेमा जोड दिएका हुन्। नेतृत्वको आफ्नै अकर्मण्यता, सोचको कमजोरी र अपरिपक्वताका कारण व्यवस्थामाथि नै दोष थोपर्ने काम भइरहेको उनको भनाइ छ।
सात प्रदेश र तीन तहको स्थानीय सरकारसहितको वर्तमान शासकीय ढाँचा नेपाली जनताको दशकौँ लामो सङ्घर्षको ऐतिहासिक निष्कर्ष भएको उल्लेख गर्दै उनले यस व्यवस्थालाई कुनै पनि किसिमको लहर, आवेग वा उत्तेजनाका भरमा अनिर्णयको बन्दी बनाउन नहुने प्रष्ट पारे।
वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्ने खालका गतिविधिहरू भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै नेता आङदेम्बेले व्यवस्थालाई पूर्ण रूपमा बुझ्दै नबुझी र यसको सही अभ्यास नै नगरी प्रश्न उठाउनु गलत भएको तर्क गरे। अबको मुख्य जिम्मेवारी जनतालाई यसै शासकीय स्वरूपमार्फत संघीयताको वास्तविक र सकारात्मक अनुभूति गराउनु रहेको उनले बताए।
यसैगरी नेता आङदेम्बेले संसद दिवसलाई केवल औपचारिक उत्सव वा ओठे ओभानो कार्यक्रमका रूपमा मात्र सीमित नराखेर देश र जनताप्रतिको दृढ प्रतिवद्धतामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।
राजनीतिमा देखिएका कमीकमजोरीहरूलाई सुधार्दै जनताप्रतिको उत्तरदायित्वलाई ठोस अठोट र सङ्कल्पमा बदल्नुपर्ने भन्दै उनले सोही जिम्मेवारीबोधका साथ अघि बढ्न संसद्मा रहेका सबै राजनीतिक दल र सरोकारवाला पक्षहरूलाई विशेष आह्वान समेत गरे।