जनताको रगत र बलिदानबाट प्राप्त संघीय व्यवस्थालाई कमजोर बनाउन खोज्नु गलत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
102
Shares
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्।
६८औँ संसद दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले नेतृत्वको आफ्नै अकर्मण्यता, अपरिपक्व सोच र कमजोरीलाई शासकीय स्वरूपमाथि दोष थोपर्न खोजिएको टिप्पणी गरे।
उनले सात प्रदेश र तीन तहको सरकारसहितको वर्तमान शासकीय संरचना नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसलाई कुनै लहर, आवेग वा उत्तेजनाका भरमा अनिर्णयको बन्दी बनाउन नहुने बताए। वर्तमान व्यवस्थाप्रति संशय पैदा गर्नु उचित नभएको उनको भनाइ छ।
आङदेम्बेले भने, ‘आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ फर्किएर गएको जस्तो अनुभूति गरिरहेका छौँ। त्यो राम्रो कुरा होइन। शासकीय स्वरूपलाई हाम्रो अकर्मण्यता, सोचको अपरिपक्वता र कमजोरीको दोष थोपर्न थालेका छौँ। त्यसलाई नबुझीकन र पर्याप्त अभ्यास नै नगरी त्यसप्रति प्रश्न उठाउनु उचित हुँदैन। सात प्रदेश र तीन तहको सरकारसहितको व्यवस्थामा कुनै लहर, आवेग वा उत्तेजनाले प्रभाव पार्नु हुँदैन। जनताको रगत र बलिदानबाट प्राप्त भएको यो ऐतिहासिक निष्कर्षलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन र यसप्रति कुनै प्रश्नचिह्न उठाउनु हुँदैन।’
उनले संसद दिवसलाई केवल औपचारिक उत्सवका रूपमा सीमित नराखी देश, लोकतन्त्र र जनताप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। साथै, उक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबै पक्षले साझा अठोटका साथ अघि बढ्नुपर्नेमा जोड दिए।