प्रधानमन्त्रीले संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग, पौडेलको पक्राउप्रति एमालेको आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
136
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेससहितका विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र साहले दिएको अभिव्यक्तिबारे सदनमै उपस्थित भएर पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई धारणा राख्ने समय दिएका थिए। बैठकमा बोल्दै नेपाली काङ्ग्रेसकी सांसद रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्ने राष्ट्रिय महत्वका विषयहरू पार्टीको महाधिवेशनमा लगेर प्रस्तुत गर्नुले सार्वभौम संसद्को गरिमा घटाएको आरोप लगाइन्।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद डा. पुष्पराज कँडेलले पनि प्रधानमन्त्री तुरुन्त संसद्मा उपस्थित हुनुपर्नेमा जोड दिँदै सीमासम्बन्धी अभिव्यक्तिबारे प्रष्टीकरण माग गरे। उनले थप आक्रोश पोख्दै नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रही ढंगले पक्राउ गरेको आरोप लगाउँदै तत्काल रिहाइको माग समेत गरे।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्नेतर्फ सरकारका प्रयासहरू केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले हालै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने प्रस्तावप्रति आफ्नो पार्टीको गम्भीर विमति रहेको स्पष्ट पारे।
यसैगरी, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले बाहिर गैरजिम्मेवार अभिव्यक्ति दिनुको साटो सदनमै आएर देशलाई यथार्थ जानकारी दिनुपर्ने माग गरे। विपक्षी दलहरूको लगातारको विरोध र प्रधानमन्त्रीको जवाफ मागका कारण संसद् बैठकमा केही बेर गतिरोध सिर्जना भएको छ।