संसद्मा प्रश्न- प्रधानमन्त्री कार्यालयमा कालो चश्मा लगाएर अख्तियारलाई थर्काउने गिरोह को हुन् ?
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
214
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साउने र हुकुम चलाउने अदृश्य गिरोह सक्रिय रहेको आरोप लगाउँदै सरकारसँग ती व्यक्तिहरू को हुन् भनी प्रश्न गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै सांसद बुढाले मुलुकको संविधान र कानुनले नचिनेका गिरोहहरूले प्रधानमन्त्री कार्यालयबाटै देशमा समानान्तर शासन चलाउन खोजेको दाबी गरे। सबै मन्त्रालयहरूमा मन्त्रीहरू केवल देखाउने अनुहार मात्रै भएको र वास्तविक निर्णय प्रक्रियामा अर्कै अदृश्य शक्तिको हालिमुहाली रहेको उनको जिकीर थियो।
प्रधानमन्त्रीको कार्यशैली र संवैधानिक मर्यादामाथि प्रश्न उठाउँदै सांसद बुढाले भने, ‘प्रधानमन्त्रीले बुझ्नुभएको छ कि छैन? अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्र होइन, यो एक संवैधानिक अङ्ग हो। यसको काम आवश्यक परेको बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा ‘चेक एन्ड ब्यालेन्स’ (सन्तुलन) कायम राख्ने हो। अख्तियार कसैको गोजीको संस्था होइन।’
उनले प्रधानमन्त्री कार्यालयले अख्तियारलाई तर्साएर आफ्नो अनुकूल निर्णय गराउने परिपाठी बसेको उल्लेख गर्दै भोलि प्रधानमन्त्री आफैँले बदमासी गर्दा कसले छानबिन गर्छ भनी गम्भीर प्रश्न समेत गरे।
पञ्चायत कालको भूमिगत गिरोहको स्मरण गर्दै उनले थपे, ‘कुनै बेला केटाकेटी छँदा पञ्चायत कालमा भूमिगत गिरोहको बारेमा चर्चा गरेको मैले सुनेको थिएँ। ठ्याक्कै त्यस्तै लोकतान्त्रिक गणतन्त्रमा एउटा अर्को प्रकारको गिरोहको चर्चा हुन थालेको छ। प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन्? तिनीहरू नेपालको संविधान र कानुनले नचिनेका केवल कालो चश्मा लगाएर राज्यका संयन्त्रहरू कब्जा गर्न बसेका नयाँ गिरोहका सदस्य हुन्।’
जनतामा मन्त्रीहरू केवल आवरण मात्रै भएको र वास्तविक निर्णय अर्कै शक्तिले गरिरहेको व्यापक गुनासो रहेको उल्लेख गर्दै सांसद बुढाले यस्ता गतिविधि लोकतन्त्रका लागि शुभसंकेत नभएको बताए। उनले लोकतन्त्र व्यक्ति वा अदृश्य शक्तिको इसारामा नभई संवैधानिक संस्था र स्थापित कानुनको जगमा चल्नुपर्नेमा जोड दिए।