प्रतिनिधि सभामा बजेट आश्रित विधेयक र अध्यादेशहरूमाथि छलफल [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
176
Shares
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले जारी छ। आजको बैठकमा विशेष गरी बजेटसँग सम्बन्धित विधेयकहरू र सरकारद्वारा जारी गरिएका विभिन्न महत्त्वपूर्ण अध्यादेशहरूमाथि छलफल तथा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसैगरी, बैठकमा विभिन्न अध्यादेशहरूलाई स्वीकृत वा अस्वीकृत गर्ने विषयमा गहन छलफल र निर्णय हुनेछ।
यसै क्रममा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी माननीय खडकबहादुर बुढाले राखेको प्रस्ताव र सोही अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
साथै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित अध्यादेशहरूमाथि पनि सदनमा छलफल हुनेछ। यी अध्यादेशहरू अस्वीकार गरियोस् भनी क्रमशः नीता घतानी, आरन राई र कृपाराम रानाले प्रस्ताव प्रस्तुत गर्नेछन् भने अर्थमन्त्री डा. वाग्ले, भूमि व्यवस्था मन्त्री प्रतिभा रावल र स्वास्थ्य मन्त्री निशा मेहताले ती अध्यादेशहरू स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले बताएको छ।