arrow

प्रधानमन्त्री कार्यालयबाट अख्तियारलाई नियन्त्रण गर्ने प्रयास भयो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
khadga-bahadur-budha-05-03.jpg

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद खड्गबहादुर बूढाले प्रधानमन्त्री कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाब दिने र निर्णय प्रभावित गर्ने ‘अदृश्य शक्ति’ सक्रिय रहेको गम्भीर आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै उनले प्रधानमन्त्री कार्यालयभित्र बसेर संविधान र कानूनले नचिनेका समूहहरूले राज्य संयन्त्रमा हस्तक्षेप गर्ने प्रयास गरिरहेको दाबी गरे।

सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतको निकाय जस्तो व्यवहार गरिनु आपत्तिजनक भएको बताए।

अख्तियार संवैधानिक अंग भएको उल्लेख गर्दै उनले यसको काम सरकारमाथि समेत निगरानी राखेर शक्ति सन्तुलन कायम गर्नु रहेको स्पष्ट पारे।

उनले भने, ‘अख्तियार कसैको गोजीको संस्था होइन। प्रधानमन्त्री कार्यालयले दबाब दिएर निर्णय गराउँछ भने भोलि प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्छ?’

सांसद बूढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउने र निर्देशन दिने समूह को हो भन्ने प्रश्न पनि उठाए। उनका अनुसार संविधान र कानूनले नचिनेका त्यस्ता समूहले कालो चस्मा लगाएर राज्य संयन्त्र कब्जा गर्न खोजिरहेका छन् भन्ने जनस्तरमा चिन्ता बढेको छ।

उनले मन्त्रालयहरूमा मन्त्रीहरू देखिए पनि वास्तविक निर्णय अर्कै अदृश्य शक्तिले गरिरहेको भन्ने व्यापक गुनासो रहेको दाबी गरे।

‘मन्त्रालयमा देखिएका मन्त्रीहरू देखाउने अनुहार मात्रै हुन्, वास्तविक निर्णय अरू कसैले गरिरहेको छ भन्ने गम्भीर प्रश्न उठेको छ,’ उनले भने।

सांसद बुढाले यस्तो अवस्था लोकतान्त्रिक प्रणालीका लागि शुभ संकेत नभएको टिप्पणी गर्दै लोकतन्त्र संस्था र संविधानद्वारा चल्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ