प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीको जवाफ- सुकुमवासी बस्ती हटाउन नेपाली सेना परिचालन गरिएको छैन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
157
Shares
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले सुकुमवासी बस्ती हटाउने क्रममा नेपाली सेनालाई कुनै पनि स्थानमा परिचालन नगरेको स्पष्ट पारेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट जवाफ दिने क्रममा उनले यस्तो कुरा बताएका हुन्।
सुकुमवासी बस्ती व्यवस्थापनका क्रममा सेना नभई नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा तथा सहजीकरणको काम गरेको उनले जिकिर गरे। राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र सीमाको रक्षाका लागि सरकारको नीति तथा निर्देशन अनुसार आवश्यकताका आधारमा नेपाली सेनासहित सुरक्षा निकायको उपस्थिति मुलुकका विभिन्न क्षेत्रमा रहने उनले स्पष्ट पारे। सुरक्षा निकायको नियमित जिम्मेवारी र सुकुमवासी व्यवस्थापनका क्रममा भएको सुरक्षा सहजीकरणलाई फरक रूपमा बुझ्न उनले सांसदहरूलाई आग्रह गरे।
बैठकमा स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले भने, ‘नेपाल सरकारले नेपाली सेनालाई सुकुमवासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा कुनै पनि स्थानमा खटाएको थिएन। जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमवासी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षा र सहजीकरणको प्रबन्ध गरेको व्यहोरा जानकारी गराउन चाहन्छु। मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशनबमोजिम मुलुकको सबै भूभागमा आवश्यकताअनुसार नेपाली सेना लगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको व्यहोरा माननीयज्यूहरूलाई जानकारी गराउन चाहन्छु।’
उनले मुलुकको सीमाको रक्षा र राष्ट्रिय हित संरक्षणका लागि सरकार सदैव प्रतिबद्ध रहेको समेत सो क्रममा बताए।