सडक सुरक्षामा विगतका सरकारहरूको तुलनामा धेरै गुणा बढी ध्यान दिएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
121
Shares
काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सरकारले विगतका सरकारहरूको तुलनामा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले ४ वर्षे सडक सुरक्षा कार्ययोजना तयार गरी कार्यान्वयन शुरू गरिसकेको बताए।
मन्त्री लम्सालका अनुसार सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि छुट्टै योजना बनाएर पर्याप्त बजेट विनियोजन गरेको छ।
उनले ‘रोड फर्निसिङ’ अन्तर्गत चार अर्ब ७४ करोड रुपैयाँ चार वर्षे कार्ययोजनासहित विनियोजन गरिएको जानकारी दिए।
उनका अनुसार जिल्ला सदरमुकाम जोड्ने एक लेनका सडकलाई आगामी तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने लक्ष्य राखिएको छ।
यसका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको र आवश्यक परे थप बजेटसमेत व्यवस्था गरिने उनले बताए।
मन्त्री लम्सालले एक लेनका सडकमा हुने दुर्घटना घटाउन स्तरोन्नति आवश्यक भएकाले सरकार त्यस दिशामा केन्द्रित भएको स्पष्ट पारे।
सडक विकास र सुरक्षाका लागि बजेट अभाव हुन नदिने सरकारको नीति रहेको पनि उनले बताए।