काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा दिएको विवादास्पद अभिव्यक्ति तत्काल सदनको अभिलेखबाट हटाउन माग गरेका छन्।
प्रधानमन्त्रीको उक्त भनाइलाई उनले ‘राष्ट्रघाती’ संज्ञा दिँदै प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर त्यसलाई सच्याउनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले निरन्तर आपत्ति जनाउँदै आएको भए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरे।
संसद्को अभिलेखमा रहेका संवेदनशील अभिव्यक्तिले राष्ट्रिय हित र सदनको गरिमामाथि प्रश्न उठाउने भएकाले त्यसमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।
राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन नसक्दा संसद्को प्रतिष्ठामा समेत असर पर्ने टिप्पणी गरे। उनले प्रधानमन्त्रीले आफ्नै मुखबाट उक्त भनाइ सच्याएर राजनीतिक र नैतिक जिम्मेवारी निर्वाह गर्नुपर्ने माग दोहोर्याए।
यसैक्रममा उनले नेपालमा रहेका भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराए।
दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका उनीहरूका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउँदै स्वदेश फिर्ताको पहल वा तेस्रो मुलुकमा रहेका परिवारका सदस्यसँग पुनर्मिलन गराउने विकल्पमा सरकारले गम्भीर पहल गर्नुपर्ने धारणा राखे।
राईले रक्षा मन्त्रालयसँग सम्बन्धित विषय पनि उठाएका छन्। मन्त्रालयगत बजेटमाथिको छलफलमा विभागीय मन्त्री अनुपस्थित रहेको र रक्षा मन्त्रालयको खर्च विवरण समेटिएको बजेट पुस्तिका सांसदहरूलाई उपलब्ध नगराइएको भन्दै उनले आपत्ति जनाए।
संसद्को प्रभावकारी निगरानी भूमिकाका लागि आवश्यक दस्तावेज समयमै उपलब्ध गराउनु सरकारको दायित्व भएको उनको भनाइ थियो।
हर्कराज राईले एउटै सम्बोधनमार्फत प्रधानमन्त्रीको अभिव्यक्ति, भुटानी शरणार्थीको मानवीय समस्या र रक्षा मन्त्रालयको जवाफदेहिताजस्ता फरक-फरक विषय उठाएका छन्।