arrow

प्रतिनिधि सभामा आर्थिक विधेयक र विभिन्न अध्यादेशहरूमाथि छलफल र निर्णय हुने कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
parliament-82-12-23eee.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बिहान ११ बजे बस्दैछ। आजको बैठकमा विशेष गरी आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा सरकारद्वारा जारी गरिएका विभिन्न महत्वपूर्ण अध्यादेशहरूमाथि छलफल र निर्णय हुने गरी कार्यसूची तय गरिएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकको सुरुवातमै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ तथा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने दुईवटा प्रस्तावहरू सदनसमक्ष प्रस्तुत गर्नेछन्। त्यसपछि बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेश र तिनको विपक्षमा सांसदहरूले दर्ता गराएका अस्वीकृतिका प्रस्तावहरूमाथि क्रमशः छलफल र निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढ्नेछ।

यसै क्रममा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ को सम्बन्धमा सांसद खडकबहादुर बुढाले राखेको अस्वीकार गरियोस् भन्ने प्रस्तावलाई सुरुमा निर्णयार्थ प्रस्तुत गरिनेछ र त्यसलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ को हकमा सांसद नीता घतानीले दर्ता गराएको अस्वीकृतिको प्रस्तावमाथि निर्णय भएपछि अर्थमन्त्री डा। वाग्लेले यसलाई स्वीकृत गर्ने प्रस्ताव संसद्‌मा राख्नेछन्।

बैठकमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ का विरुद्ध सांसद आरन राईले दर्ता गराएको अस्वीकृतिको प्रस्तावमाथि पनि आजै निर्णय गरिनेछ भने त्यसपछि भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

अन्त्यमा,स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को विपक्षमा सांसद कृपाराम रानाले दर्ता गराएको अस्वीकृतिको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव संसद्‌मा पेश गर्नेछिन्। बिहीबार मात्रै विनियोजन विधेयक बहुमतले पारित गरेको प्रतिनिधि सभाले आजको बैठकबाट बजेट आश्रित अन्य विधेयक र अध्यादेशहरूलाई कानुनी रूप दिने प्रक्रियालाई पूर्णता दिन लागेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ