कांग्रेस नेता खरेलको निधनप्रति सभापति थापाले गरे दुःख व्यक्त
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
152
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार राति उनको निधन भएको हो।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज एक शोक सन्देश जारी गर्दै नेता खरेलको निधनप्रति गहिरो दुःख व्यक्त गरे। सभापति थापाले उनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइला सन्तानका रूपमा जन्मिएका खरेल विद्यार्थी जीवनदेखि नै कांग्रेसको आदर्श र लोकतान्त्रिक आन्दोलनमा समर्पित थिए। नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा उनले पटक–पटक गरी झन्डै ९ वर्ष लामो जेल जीवन बिताएका थिए।
जननायक वीपी कोइराला, लौहपुरुष गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईको निकट रहेर उनले पार्टी सङ्गठन निर्माणमा ठुलो योगदान पुर्याएका थिए। वि.सं. २०४९ देखि २०५३ असारसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय उनकै बानेश्वरस्थित घरबाट सञ्चालन भएको ऐतिहासिक तथ्य छ।
खरेलले वि.सं. २०४८, २०५१, २०५६ र २०६४ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए। वि.सं. २०५६ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएपछि उन शिक्षा राज्यमन्त्री र पछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए।
पार्टी कार्यालयका अनुसार खरेलको निधनबाट कांग्रेसले लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, निष्ठावान् एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ। उनका तीन छोराहरू कृष्णचन्द्र खरेल, महेश खरेल (पाँचखाल नगरपालिकाका प्रमुख एवं काभ्रे कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति) र शैलेस खरेल छन्।