'प्रधानमन्त्रीलाई चिया पिउने फुर्सद छ, चिया किसानको समस्या सुन्ने समय छैन'
चिया निर्यात रोकिँदा इलामका ८३ उद्योग बन्द, तेस्रो देशमा बजार सुनिश्चित गर्न कांग्रेस सचेतक राईको माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
274
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रहार गर्दै चिया पसलमा गएर चिया पिउन भ्याउने प्रधानमन्त्रीले गम्भीर सङ्कटमा परेका चिया किसान र उद्योगीको समस्या समाधान गर्न भने फुर्सद नपाएको आरोप लगाएका छन्।
गुणस्तर परीक्षणको बहानामा नेपाली चिया निर्यातमा रोक लगाएपछि उत्पन्न समस्याबारे बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सचेतक राईले सरकारको उदासीनताप्रति तीव्र आक्रोश पोखे।
संसदमा बोल्दै सचेतक राईले प्रधानमन्त्री सामाजिक सञ्जालमा मात्रै व्यस्त रहेको र भुइँतहका किसानको समस्याबाट सधैँ भाग्ने गरेको आरोप लगाए।
उनले प्रधानमन्त्रीको भ्रमण र सामाजिक सञ्जालको गतिविधिको चर्चा गर्दै भने, "हुन त सम्माननीय प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएँ— उहाँले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुभएछ। तर, वार्षिक तीन करोड किलो तयारी चिया निर्यात हुने र देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाउनुभएको देखिएको छैन।"
सचेतक राईका अनुसार नयाँ र कडा मापदण्ड लागू भएपछि नेपाली चिया निर्यात ठप्प भएको छ। उक्त मापदण्डभित्र नपरे नेपाली चिया नष्ट गर्नेसम्मको प्रावधान राखिएका कारण बुझाउन लागिएको चिया सीमामै रोकिएको छ।
यसकै परिणामस्वरुप इलामका ८३ वटाभन्दा बढी चिया उद्योगहरू विगत तीन दिनदेखि पूर्ण रूपमा बन्द गरिएका छन् भने उद्योगीहरूले फ्याक्ट्रीमा ताला झुन्ड्याएका छन्। उद्योग नै बन्द भएपछि किसानले उत्पादन गरेको हरियो चिया पात बोटमै खेर गइरहेको छ भने चिया बगान र उद्योगमा काम गर्ने हजारौँ श्रमिकहरूको रोजगारी खोसिएको छ।
चिया क्षेत्रको यो समस्या आफूले संसदमा उठाएको आज सातौँ पटक पुग्दा पनि सरकारले पटक्कै ध्यान नदिएको राईले बताए। उनले यसअघि प्रधानमन्त्रीलाई औपचारिक तथा अनौपचारिक रूपमा भेटेरै र परराष्ट्रमन्त्री एवं ऊर्जामन्त्रीलाई समेत पटक–पटक गुहार्दा पनि कसैले चासो नदिएको गुनासो गरे।
"चिया उद्योग बन्द हुँदा किसान र श्रमिकको रोजीरोटी खोसिएको छ, उद्योगीहरू बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन्। बालबालिकाको शिक्षा र स्थानीयको जनजीवन चियामै आश्रित छ, तर सरकार गम्भीर हुन सकिरहेको छैन," राईले थपे।
सचेतक राईले चियाको यो गम्भीर समस्या तत्काल समाधान गर्न सभामुखमार्फत सरकारसँग 'जीटुजी' र कूटनीतिक कसरत अगाडि बढाउन माग गरे।