काठमाडौँ । अष्ट्रेलिया विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह डीको अन्तिम चरणको आज सम्पन्न खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया अन्तिम ३२ मा प्रवेश गरेको हो ।
दुवैको समान चार अंक भए पनि गोलअन्तरमा अगाडि रहँदै अष्ट्रेलिया समूह उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको हो । यो समूहबाट सहआयोजक अमेरिका ६ अंकसहित शीर्ष स्थानमा रहँदै समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको छ । अष्ट्रेलिया उपविजेता भयो ।
चार अंकको पाराग्वे तेस्रो हुँदै अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै रहेको छ । सहभागी ४८ टिममध्ये १२ समूहका विजेता तथा उपविजेता सीधै नकआउटमा पुग्छन् भने तेस्रो स्थानका १२ मध्ये उत्कृष्ट ८ टिम पनि अन्तिम ३२ मा पुग्छन् ।
यो हिसाबले पाराग्वेको सम्भावना कायमै छ । तर अन्य खेलहरूको नतिजा कुर्नु पर्ने भएकाले प्रतिक्षा रहेको छ ।
यतातीन अंकको टर्किए बाहिरिएको छ । अन्तिम भिडन्तमा टर्किएले अमेरिकालाई ३–२ ले हराएर सनसनी मच्यायो ।
खेलको तेस्रो मिनेटमै अस्टन ट्रस्टीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । १० मिनेटमा आर्दा गुलेरले गोल गर्दै टर्किएलाई बराबरीमा ल्याए । ३१ औँ मिनेटमा टर्किएका बान्स अल्पर यिल्माजले गोल गर्दै टर्किएलाई अग्रता दिलाए ।
अमेरिकाले ४९ औँ मिनेटमा सेबास्टियन बेर्हाल्टरको गोलबाट २–२ को बराबरी गर्यो ।
इन्जुरी समयको आठौँ मिनेटमा कान ऐहानले गोल गर्दै टर्किएलाई सनसनीपूर्ण जित दिलाए । तर यो जित अर्को चरण प्रवेश गर्न पर्याप्त नभए पनि सान्त्वना तर सम्झनयोग्य जित रह्यो ।