विश्वकपको ज्वरो: खेलको रोमाञ्चकतासँगै कसरी जोगाउने आफ्नो स्वास्थ्य र निद्रा ?
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
361
Shares
काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ चलिरहँदा विश्वभरका फुटबल समर्थकहरूमा यसको छुट्टै रौनक छ। तर फरक समय क्षेत्र (टाइम जोन) का कारण नेपालसहित विभिन्न देशका समर्थकहरू राति अबेरसम्म वा रातभर जाग्राम बसेर खेल हेर्न बाध्य छन्।
रोमाञ्चक खेल, थपिएको अतिरिक्त समय र पेनाल्टी सुटआउटको कौतुहलताले गर्दा फुटबलप्रेमीहरूले प्रायः आफ्नो महत्त्वपूर्ण निद्रा त्यागिरहेका छन्। लगातार रातभर जाग्राम बस्दा शारीरिक स्वास्थ्य, मानसिक अवस्था र दैनिक कार्यक्षमतामा गम्भीर नकारात्मक असर पर्न सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले खेलको मजा लिँदै पर्याप्त आराम र स्वास्थ्य कसरी कायम राख्ने भन्नेबारे केही महत्त्वपूर्ण सुझावहरू दिएका छन्।
१. 'पावर न्याप' (छोटो निद्रा) को सहारा लिने
विज्ञहरूका अनुसार राति ढिलो सुरु हुने खेलहरू हेर्नुअघि साँझको समयमा २० देखि ३० मिनेटसम्म छोटो निद्रा (पावर न्याप) लिन सकिन्छ। यसले दिनभरिको थकान कम गर्न र मस्तिष्कलाई ताजा राख्न मद्दत गर्छ। तर, साँझको समयमा धेरै लामो समय सुत्नुहुँदैन; यसले गर्दा ब्युँझिएपछि झन् अल्छी लाग्ने र खेल सकिएपछि राति पुनः निदाउन निकै कठिन हुन सक्ने चेतावनी दिइएको छ।
२. क्याफिन र इनर्जी ड्रिंक्सको प्रयोगमा सावधानी
राति खेल हेर्दा जागा बस्नका लागि धेरैजसो समर्थकहरूले कफी, चिया वा इनर्जी ड्रिंकको सहारा लिने गर्छन्। तर सुत्ने समय नजिकिँदै गर्दा क्याफिन सेवन गर्दा खेल सकिएपछि पनि कडा अनिद्राको समस्या हुन सक्छ। त्यसैले खेलको सुरुआती समयमा मात्रै क्याफिनयुक्त पेय पदार्थ सेवन गर्न र दोस्रो हाफ सुरु भएपछि वा खेलको उत्तराद्र्धतिर सकेसम्म पानी वा अन्य स्वस्थकर पेय पदार्थ मात्र पिउन सुझाव दिइएको छ।
३. हल्का र सुपाच्य खाजा मात्र रोज्ने
राति ढिलोसम्म बस्दा भोक लाग्नु स्वाभाविक हो, तर यस्तो बेला भारी, बढी चिल्लो र बोसोयुक्त खाना खानुभन्दा हल्का खाजा रोज्नु स्वास्थ्यका लागि हितकर मानिन्छ। बदाम, मौसमी फलफूल, दही तथा 'होल ग्रेन' (चोकरयुक्त अन्न) बाट बनेका परिकारहरू खाँदा पाचन प्रणालीलाई कम असर पर्छ र यसले निद्राको गुणस्तरलाई पनि बिगार्दैन।
४. खेल सकिएपछि मस्तिष्कलाई शान्त बनाउने
खेल समाप्त भए लगत्तै ओछ्यानमा जाँदा खेलको उत्साह र तनावका कारण तुरुन्तै निद्रा नलाग्न सक्छ। त्यसैले खेल सकिएपछि शरीर र मस्तिष्कलाई शान्त (रिल्याक्स) बनाउने गतिविधि गर्न विज्ञहरूको सुझाव छ। हल्का स्ट्रेचिङ गर्ने, केही बेर पुस्तक पढ्ने वा मधुर सङ्गीत सुन्ने जस्ता गतिविधिले खेलको उत्तेजनाबाट बाहिर निस्कन र सहज रूपमा निदाउन मद्दत पुर्याउँछ।
५. खेलपछि स्क्रिन टाइम कम गर्ने
धेरैजसो समर्थकहरूको खेल सकिने बित्तिकै सामाजिक सञ्जालमा खेलको विश्लेषण हेर्ने, प्रतिक्रिया लेख्ने, हाइलाइट्स वा मिम्सहरू हेर्दै थप घण्टौँ मोबाइल चलाउने बानी हुन्छ। मोबाइलको नीलो प्रकाश (ब्लु लाइट) ले निद्रा लाग्ने हर्मोन 'मेलाटोनिन' उत्पादनमा अवरोध पुर्याउने भएकाले खेल सकिने बित्तिकै मोबाइल तथा अन्य डिजिटल स्क्रिनहरू बन्द गर्न स्वास्थ्यविद्हरूले विशेष आग्रह गरेका छन्। विश्वकपको रोमाञ्चकता जतिसुकै महत्त्वपूर्ण भए पनि आफ्नो स्वस्थ जीवनशैली र पर्याप्त निद्रालाई बेवास्ता नगर्नु नै बुद्धिमानी हुनेछ