स्वास्थ्य बीमा सुधार गर्न पहिले ऐन संशोधन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
249
Shares
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा ऐन संशोधन आवश्यक रहेको बताएका छन्।
आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले स्वास्थ्य बीमासम्बन्धी सुधारका लागि नीतिगत परिवर्तन अपरिहार्य रहेको र ऐन संशोधन गरेर अघि बढ्नुपर्ने बताए।
सचिव देवकोटाले स्वास्थ्य बीमा क्षेत्रमा देखिएका गुनासोहरू तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सरकारले यस कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको दाबी गरे।
‘बीमा सुधारका लागि विभिन्न सुझाव आएका छन्। यसमा केही नीतिगत सुधार गर्न बाँकी छ र त्यसका लागि बीमा ऐन संशोधन गर्नुपर्ने हुन्छ। साउन १ गतेदेखि यसलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ,’ उनले भने।
उनले स्वास्थ्य बीमा सुधारलाई सरकारले प्राथमिकतामा राखेको प्रमाणस्वरूप आगामी आर्थिक वर्षका लागि बजेटमा उल्लेख्य वृद्धि गरिएको बताए।
उनका अनुसार चालु आर्थिक वर्षबाहेक विगतमा स्वास्थ्य बीमाका लागि करिब साढे सात अर्ब रुपैयाँ बजेट विनियोजन हुँदै आएकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ छुट्याइएको छ।
‘बजेट दोब्बर हुनुको अर्थ सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको हो,’ सचिव देवकोटाले भने।
उनले सरकारले आगामी तीन वर्षभित्र आधारभूत स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको पनि बताए।
सचिव देवकोटाका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको सुधार र विस्तारले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।