बरङ्जामा सामुदायिक कुकुरको आतङ्क: दश दिनमा तीन बाख्रा मरे
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
260
Shares
काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर लगातार बाख्रा मर्न थालेपछि स्थानीयवासीहरू चरम त्रासमा परेका छन्। पछिल्लो १० दिनयता मात्रै बरङ्जा क्षेत्रमा कुकुरको आक्रमणबाट तीन वटा बाख्रा मरेका छन् भने छ वटा बाख्रा गम्भीर घाइते भएका छन्।
दैनिकजसो कुकुरले टोकेर बाख्रा मार्ने र घाइते बनाउन थालेको मङ्गला गाउँपालिका-३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बताइन्। उनका अनुसार बरङ्जाका पिङ्गे, खर्क, आलडाँडा, बाहुनपँधेरा, वडा कार्यालय र खर्सुपानी क्षेत्रमा सामुदायिक कुकुरले आतङ्क सिर्जना गरेका छन्। "आतङ्क फैलाउने कुकुर पहिचान गरी नियन्त्रणमा लिनका लागि गाउँपालिका र सिंगा तातोपानी प्रहरी चौकीसँग आवश्यक सहयोग मागेका छौँ," कार्यवाहक वडाध्यक्ष पुनले भनिन्।
कुकुरको टोकाइबाट घाइते भएका बाख्राहरूको उपचारका लागि वडा कार्यालयमा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरूलाई यतिबेला भ्याइनभ्याइ भएको छ। वडा कार्यालयका अनुसार पिङ्गेका टेकबहादुर थापाका दुई वटा र भीमबहादुर रोकाको एउटा बाख्रा कुकुरले टोकेर मरिसकेका छन्। त्यस्तै, खर्सुपानीमा दुई, खर्कमा दुई, वडा कार्यालय नजिकै एउटा र बाहुनपँधेरामा एउटा गरी छ वटा बाख्रा कुकुरको टोकाइबाट घाइते भएका छन्।
स्थानीय कृषक गङ्गाधर आचार्यका अनुसार तीन वटा कुकुरहरू किसान घरमा नभएको मौका छोपेर गोठमै पस्ने गरेका छन्। कुकुर आतङ्कका कारण सिङ्गो बरङ्जावासीमा त्रास सिर्जना भएको स्थानीय महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटाले बताए।
कुकुरको आतङ्क बढेपछि बरङ्जाका सबै टोलहरूमा सार्वजनिक सूचना जारी गरिएको छ। घरपालुवा कुकुरहरूलाई सम्बन्धित धनीले अनिवार्य रूपमा बाँधेर राख्न भनिएको छ भने आतङ्क फैलाउने ती सामुदायिक कुकुरहरूलाई नियन्त्रणमा लिन गाउँपालिका र सुरक्षा निकायसँग सहकार्य गरी खोजी कार्य अघि बढाइएको कार्यवाहक वडाध्यक्ष पुनले जानकारी दिइन्।