arrow

थिति बसाउने कदम विधिसम्मत र संवैधानिक हुनुपर्छ: वर्षमान पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
barsaman-07.jpg

काठमाडौँ । नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले देशमा थिति बसाउन सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चाल्ने कुनै पनि कदम विधिसम्मत र संविधानको दायराभन्दा बाहिर हुन नहुनेमा पर्याप्त ध्यान दिन आग्रह गरेका छन्। चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा जारी रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

नेता पुनले भ्रष्टाचार अन्त्य र सुशासनको एजेण्डामा रास्वपा र आफ्नो पार्टीको धारणा समान रहेको उल्लेख गर्दै यस अभियानमा सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरे। विगतमा आफूहरू सरकारमा रहँदा र बाहिर रहँदा पनि सुशासनको एजेण्डालाई दह्रोसँग अगाडि बढाएको दाबी उनले गरे।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता पुनले भने, "सुशासनको एजेण्डामा हामीबिच समानता छ। हामीले विगतमा सरकारमा रहँदा र बाहिर रहँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौँ। सुशासनको एजेण्डामा हाम्रो पार्टी र रास्वपाको जतिको निकट सहकार्य सायद अरूको बिचमा भएको छैन। कठिन परिस्थितिमा पनि हामीले लोकतान्त्रिक मूल्य र न्यायको पक्षमा सँगै उभिने प्रयास गरेका थियौँ। आज पनि सुशासन, पारदर्शिता र थिति बसाउने अभियानमा हाम्रो यहाँहरूलाई पूर्ण समर्थन छ। भ्रष्टाचारको अन्त्य र सुशासनको एजेण्डामा हामी सँगै थियौँ, छौँ र रहनेछौँ। त्यस सन्दर्भमा एउटा सुझाव र आग्रह— थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने कुरामा तपाईँहरूको पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ।"

नेता पुनले रास्वपाको सुशासन, पारदर्शिता र थिति बसाउने हरेक सकारात्मक कदमलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने स्पष्ट पार्दै कानुनी राज्यको मर्यादाभित्र रहेर काम गर्न नयाँ नेतृत्वलाई सुझाव दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ