छ लाख बाँदर नमारेसम्म किसानले शान्ति पाउँदैनन्, जेल जान डराउन्नँ: सांसद राई
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
451
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दो बाँदरको आतङ्कका कारण किसानहरू ठुलो मारमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि ६ लाख बाँदर मार्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद राईले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको रोदन रोक्न यो कठोर कदम चाल्नुको विकल्प नरहेको जिकिर गरे।
विगतमा ६०० वटा बाँदर मारेको आरोपका सम्बन्धमा सोधिएको प्रश्नमा सांसद राईले आफूले प्रत्यक्ष रूपमा हत्या नगरेको तर आजित भएका जनताले बाँदर मार्दा आफूले त्यस कार्यमा पूर्ण रूपमा सहयोग गरेको स्वीकार गरे।
पशु अधिकारकर्मीहरू (एनिमल राइट्स एक्टिभिस्ट) ले जनावरको अधिकारका विषयमा गरिरहेको विरोधप्रति कडा आक्रोश पोख्दै उनले अधिकारकर्मीहरूलाई काठमाडौँको सडक छोडेर गाउँको व्यावहारिक समस्या बुझ्न आग्रह गरे। उनले 'एनिमल लभर्स' हरू माइतीघरमा बसेर आन्दोलन गरिरहेको तर वास्तविक पीडा किसानको मकैबारी र अलैँची घारीमा रहेको तर्क गरे।
रोस्ट्रम र संसद् परिसरमा बोल्दै उनले भने, "मैले हत्या गरेको होइन, जनताले मारेका हुन् र मैले त्यसमा सहयोग गरेको हुँ। ६०० होइन, अब देशका ६ लाख बाँदर मार्नुपर्छ, तब मात्र किसानले शान्ति पाउँछन्। लाखौँ मूल्य पर्ने अलैँचीका टुसा बाँदरले एकैछिनमा नष्ट गरिदिन्छ, जसका कारण किसानहरू धुरुधुरु रोइरहेका छन्। यस्तो अवस्थामा विदेशीले बनाइदिएको कानुन र एनजीओ/आईएनजीओको कुरा सुनेर आफ्ना देशका जनतालाई पीडा दिइराख्नु हुँदैन।"
बाँदर मारेको र हिंसा फैलाउन सहयोग गरेको आरोपमा कानुनी कारबाही हुन सक्ने विषयमा बोल्दै सांसद राईले आफू कुनै पनि कानुनी कारबाही वा जेल जान कत्ति पनि नडराउने स्पष्ट पारे। विगतमा देशको व्यवस्था परिवर्तनका लागि ज्यान फालेर लडेका मानिसहरू कसैको उजुरीको भरमा नतर्सिने उनको दाबी छ।
सांसद राईले बाँदर संरक्षण र वन्यजन्तु अधिकारको वकालत गर्नेहरूलाई एकपटक गाउँका मकैबारी र विकट क्षेत्रमा गएर किसानको दयनीय अवस्था आँखाले देख्न चुनौतीसमेत दिए। जंगली जनावरको आतङ्कका कारण पहाडी भेगमा बसाइँसराइँसमेत बढेको भन्दै उनले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु ऐनमा टेकेर जनतालाई थप प्रताडित गर्न नहुने धारणा राखे।